रु रु जलविद्युत परियोजना लिमिटेडको शेयर धितोपत्र सूचीकरण विनियमावली अनुसार आज (सोमबार) देखि कारोबारमा आउने भएको छ । आइतबार कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सर्वसाधारणलाई वितरण गरिएको ४ लाख ७ हजार ७०६ कित्ता, ओायजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई वितरण गरिएको ४ लाख ७ हजार ७०५ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३२ लाख ६१ हजार ६४४ कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसा देखि ३५६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेज्न निर्धारण गरेको छ । त्यसको आधारमा कम्पनीको शेयर कारोबार खुल्नेछ । कम्पनीको शेयरलाई आरयुआरयु कारोबार संकेत दिएको छ ।
एनएमबि लघुवित्तको खुद नाफा १२ करोड ६५ लाख : एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १२ करोड ६५ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आर्थिक वर्षको यसै अवधमिा ४ करोड ५९ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तको नाफा १७५ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा लघुवित्तका अधिकांश सूचकमा बढोत्तरी भएको छ । चुक्ता पूँजी पनि ३३.२८ प्रतिशतले बढाएर ५३ करोड ९८ लाख ५ हजार रुपैयाँ पुर्याएको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १७.७६ रुपैयाँ बढेर ३१.२७ रुपैयाँ पुगेको छ ।
यस अवधिमा लघुवित्तको जगेडा कोषको आकार १.८१ प्रतिशत, निक्षेप संकलन २७.५१, कर्जा लगानी ४६७.८९, खुद ब्याज आम्दानी ९२.२२, सञ्चालन नाफा १२३७.९५ प्रतिशत तथा प्रतिशेयर आम्दानी १७.७६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ०..३७ रुपैयाँले बढेको छ ।
चैत मसान्तसम्म लघुवित्तले १ अर्ब ७८ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ८३ करोड ३ लाख रुपैयाँ सापटी लिई ५ अर्ब २५ करोड ९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ३३ करोड ९९ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी र २० करोड ३ लाख ५ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।