नेकपा माओवादी केन्द्रले पटक पटक कांग्रेसलाई सरकारको नेतृत्व लिन आग्रह गरिरह्यो । विशेषगरी गत फागुन २३ गतेको एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वाेच्च अदालतको आदेशपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको अफर पटक पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहे ।
बुढानिलकण्ठस्थित देउवा निवासमै पुगेर प्रचण्डले देउवालाई ओली सरकारको विकल्पमा नयाँ सरकार बनाउनुपर्ने र नयाँ सरकारको नेतृत्व लिन आग्रह गरे । तर, देउवाले आलटाल गरिरहे । पछि आफ्नै पार्टीभित्रबाट ओली सरकारको विकल्प खोज्नुपर्ने आवाज बलियो बन्दै गएपछि २० चैतमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन निर्णय गरेको थियो ।
त्यसपछि कांग्रेसले दलीय छलफल गरे पनि नयाँ सरकार गठन प्रक्रियामा तदारुकता देखाएन । कारण थियो, देउवाको इच्छाबिना नै सरकारको नेतृत्व लिने पार्टीको निर्णय । ओली सरकारको विकल्पमा देउवा नेतृत्वमा सरकार बन्ने सम्भावना कम देखिएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि यही वैशाख २७ गतेका लागि संसदको अधिवेशन आह्वान गरिएको छ ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिए यही सरकारले बाँकी कार्यकाल पूरा गर्ने छ भने विश्वासको मत नपाए दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने हुन्छ । तर, एमालेइतरका दुुई दल मिलेर नयाँ सरकार बनाउन संसदमा अंकगणितले साथ दिँदैन । यसका लागि कांग्रेस, माओवादी केन्द्र, जसपा मिल्नुपर्ने हुन्छ । तर, जसपाभित्रको आन्तरिक विवादले यसलाई सम्भव गराउनेमा आशंका छ ।
दुुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन हुन नसक्ने वा गठन भएको सरकारले एक महिनाभित्रमा विश्वासको मत नपाए फेरि संसदको सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाउने संवैधानिक व्यवस्था छ ।
यही व्यवस्थाका आधारमा फेरि केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने र यो सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिन नसके मौजुदा प्रतिनिधि सभा विघटन गरेर ६ महिनाभित्र चुनाव गराउने गरी राष्ट्रपतिले मिति तोक्ने सक्ने संवैधानिक व्यवस्था छ । यसर्थ अब देउवाभन्दा पनि ओली नै प्रधानमन्त्रीमा रहने र ओली सरकारले आगामी निर्वाचन गराउने संकेत अहिलेको राजनीतिक अवस्थाले देखाएको छ ।