घीय संसद् सचिवालयले को’भिड–१९ सं’क्रमणलाई हेक्का राख्दै वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सीट व्यवस्थापन गरेको छ । विशेषज्ञ चिकित्सकको रायपरामर्शमा सचिवालयले कोरोना संक्रमणको पक्षलाई ध्यान दिँदै एक र अर्काे सांसदबीच २ कुर्सी खाली रहने गरी बस्ने व्यवस्था मिलाएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशनका क्रममा बैठकमा अपनाउनुपर्ने स्वास्थ्य सावधानीबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ सेवा विभाग र नेपाल चिकित्सक संघका पदाधिकारीसगँको परामर्श र सुझावका आधारमा सिट व्यवस्थापन गरिएको प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
अघिल्लो अधिवेशनमा बीचमा एउटा कुर्सी खाली राखेर सदस्यलाई बस्ने व्यवस्था मिलाइएको थियो । सिट व्यवस्थापन गर्ने क्रममा दर्शकदीर्घालाई पनि बैठक कक्षका रूपमै प्रयोग गरिने छ । अधिवेशनमा सुरक्षा मापदण्ड कसरी अपनाउने भन्ने सम्बन्धमा सचिवालयले विशेषज्ञ टोलीलाई बैठक कक्षको स्थलगत निरीक्षण गराई सावधानीका उपायबारे रायसुझाव लिएको डा. पाण्डेले बताए ।
विशेषज्ञ टोलीले सिट व्यवस्थापन गर्दा कम्तीमा २ मिटरको दूरी कायम गर्न, सेनिटाइजर पर्याप्त स्थानमा राख्न, जमघट र भेटघाट हुने चमेना गृह र शौचालय जस्ता स्थानमा आलोपालो मिलाएर जान र फर्कनका लागि फरकफरक बाटो तय गर्न सुझाव दिएको थियो ।
बैठक कक्षका झ्यालढोका पूर्णरूपमा खोल्न, आवागमन सहज तुल्याउन र विशेषज्ञ स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क राख्न पनि टोलीले सचिवालयलाई परामर्श दिएको बताइएको छ । सभामुख र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक सम्मिलित कार्यव्यवस्था परामर्श समितिले छलफलपछि तय गरिने कार्यसूचीका आधारमा अधिवेशन कसरी अघि बढाउने भन्ने निर्क्यौल गर्नेछ ।
को’रोना सं’क्रमणले दैनिक नयाँ अभिलेख कायम गरिरहेको तथा प्रमुख राजनीतिक दलभित्रै पनि आन्तरिक विवादले उत्कर्ष लिइरहेका बेला हुन लागेको प्रतिनिधि सभाको आगामी अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नु भएकाले सोही प्रयोजनका लागि वैशाख २७ गते संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । को’भिड–१९ सं’क्रमणबाट सिर्जित प्रतिकूल परिस्थितिमा मत विभाजन गर्दा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा व्यवस्था र आवश्यक कर्मचारी व्यवस्थापनको पाटामा पनि सचिवालयले थप गृहकार्य गरिरहेको जनाइएको छ ।