नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पार्टीलाई २ जेठ २०७५ कै अवस्थामा फर्किएर सहमति जुटाउने प्रयासमा उदसीन देखिएपछि एमालेका माधवकुमार नेपाल-झलनाथ खनाल पक्षका सांसदहरु राजीनामा दिने निष्कर्षमा पुगेका छन् ।
यद्यपि ओलीलाई नेपाल-खनाल समूहले २४ घण्टे साँझसम्मको डेडलाइन दिएको छ । नभए यो समूहका सांसदहरुले सामूहिक राजीनामा दिनेछन् । शनिवार साँझ सकिएको नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म पर्खने सहमति गरेको हो । ‘२ जेठ २०७५ कै अवस्थामा केपी ओली फर्कन तयार नभए राजीनामा दिन तयार भएका छौं ।
तर भोलि साँझसम्म कुर्छौ’, एक सांसदले भने । उनका अनुसार ओली अडानमै रहिरहेमा आइतबार साँझ वा सोमबार विहानसम्म सांसदहरुले राजीनामा दिनेछन् । राजीनामा दिन सांसदहरुले प्रतिबद्धता नै जनाएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति २७ वैशाखमा संसद्को विशेष अधिवेशन बोलाइएको छ ।
तर अहिलेकै अवस्थामा प्रधानमन्त्री ओलीलाई माधव नेपाल समूहका सांसदहरुले विश्वासको मत नदिने भएका छन् । अध्यक्ष ओली २ जेठको एमाले पार्टी संरचना, विधान र नेतृत्वमा फर्कन नचाहेको वार्तामा सहभागी नेताहरुको ब्रिफिङ थियो । २८ फागुन यता गरिएका निर्णय खारेज गर्दै अदालतको फैसला अनुसार एमालेको बैठक बसेर मात्रै अगाडि बढ्न सकिने अडानबाट पछि नहट्ने निर्र्णय पनि सांसदहरुको बैठकले निकालेको छ ।