सम्पूर्ण आमामा समर्पण गर्दै डा. डीआर उपाध्यायले मातातीर्थ औंसीको अवसर पारेर आफ्नो नयाँ विश्व कीर्तिमानी गीत आमा रिलिज गरेका छन् । यो गीतको भिडियोलाई डीआर म्युजिक एन्ड क्रियसनबाट उनले आइतबार रिलिज गरेका हुन् ।
तीन साताअघि मात्र यो गीतले विश्व रेकर्ड बनाएको थियो । यो गीतमा सबैभन्दा बढी पटक आमा शब्दको प्रयोग गरिएको छ । यही प्रयोगका कारण यो गीतले विश्व रेकर्ड बनाएको हो । यो गीतमा १ सय ५ पटक आमा शब्द प्रयोग गरिएको छ । गीतसंगीतमै गिनिज बुक अफ वल्र्ड रेकर्डसहित ५२ वटा विश्व रेकर्ड कायम गर्न सफल गीतकारका रूपमा डीआर परिचित छन् ।
त्यसैले आमाको मुख हेर्ने दिन (मातृसम्मान दिवसको)को अवसर पारेर गीतको लिरिकल भिडियो आइतबार मात्र सार्वजनिक गरिएको गीतकार उपाध्यायले राजधानीलाई बताए । यो गीतलाई कृष्ण कार्कीले गाएका छन् । जसमा सागर अधिकारी ‘शरद्’को संगीत रहेको छ । गीतलाई देवेन्द्र नेवाःले संगीत संयोजन गरेका छन् ।