प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएका छन् । आज प्रतिनिधि सभामा विश्वासको मत लिने ओलीको प्रस्ताव निर्णयार्थ प्रस्तुत भई मतदान हुँदा पक्षमा बहुमत प्राप्त नभएपछि असफल भएका हुन् ।
प्रधानमन्त्री ओलीलाई नेकपा एमालेका आफूपक्षीय सांसदहरुले मात्र मतदान गरेका थिए । माधव नेपाल समूहका अधिकांश सांसदहरु मतदानमा अनुपस्थित भए । प्रस्तावको विपक्षमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूहका सांसदहरुले मतदान गरेका थिए ।
विश्वासको मत लिन असफल भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् । अब संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार बनाउने विकल्पमा देश जान्छ । त्यो अवस्था पनि नआए संविधानको धारा ७६ को उपधारा ३ बमोजिम अल्पमतको सरकारको नेतृत्व ओलीले नै गर्नेछन् ।