इरानले कोरोना भाइरसविरुद्धको खोप स्वदेशमै उत्पादन गर्न थालेको छ । खोप उत्पादन सुरु भएसँगै इरानी स्वास्थ्य मन्त्रालयलाई तीन लाख डोज बराबरका कोरोना खोप प्रदान गरिएको छ ।
बाराकत फाउन्डेशनको आर्थिक सहयोगमा इरानमै उत्पादन गरिएको कोरोना खोपको नाम ‘कोभिरान’ राखिएको छ । पहिलो चरणमा उत्पादित तीन लाख डोज खोप स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको इरानी समाचार माध्यम तास्निमले जनाएको छ । मे महिनाभित्रमा १० लाख कोभिरान उत्पादन गरिने इरानी अधिकारीले बताएका छन् ।
यसअघि इरानले रुसी कोरोना खोप स्पुतनिक, भारतीय कोभ्याक्स र एस्ट्राजेनेको आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ । इरानमा कोरोनाविरुद्धको खोप अभियानले तीव्र रुपमा अघि बढिरहेको छ । आइतबार राष्ट्रपति हसन रोहानीले उच्च जोखिममा रहेका १ करोड ३० लाख मानिसलाई जुलाई २२ सम्ममा कोरोना खोप लगाउने योजना सार्वजनिक गरेका थिए ।