निर्वाचन आयोगले लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदका लागि हुने उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। उक्त प्रदेशको रिक्त पदमा जेठ १७ गते उपनिर्वाचन हुँदै छ। स्वीकृत कार्यक्रमअनुसार जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने र दाबी विरोधको उजुरी दिने, जेठ २ र ३ गते प्राप्त निवेदन तथा उजुरीउपर छानविन र कारबाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
यस्तै, जेठ ४ गते उमेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उमेदवारको सूची प्रकाशन गर्ने, जेठ ५, ६ र ७ गते उमेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने तथा उमेदवारको नामावली प्रकाशन गर्ने, जेठ ८ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम रहेको छ।
यस्तै, जेठ ९ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ। नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका उम्मेदवार एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गरेको थियो। त्यसपछि रिक्त हुन पुगेको पदका लागि निर्वाचन हुन लागेको हो। उक्त पदमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले साझा उम्मेदवारको रुपमा दृघबहादुर पाण्डेलाई उठाउने निर्णय गरेका छन्।