आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश नम्बर–१, प्रदेश नम्बर–२, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका सुदूरपश्चिम प्रदेश, वाग्मती र प्रदेश–१ का केही भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
बाँकी भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली रहेको छ । आज दिउँसो प्रदेश–१, प्रदेश–२ लगायत अन्य पहाडी भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली रहनेछ । बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी न्यूनचापीय प्रणाली, दक्षिण–पूर्व भू–भागनजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावले मौसम बदली भएको हो । आज काठमाडौं उपत्यकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् राजु प्रधानांगले बाह्रखरीलाई जानकारी दिए ।
काठमाडौं उपत्यकामा गए राति १२.६ मिलिमिटर पानी परेको छ । गए राति सबैभन्दा बढी संखुवासभामा ४८.२ मिलिमिटर पानी परेको उनले बताए । “यो प्रिमनसुनको एक्टिभिटी हो । तीन–चार दिनसम्म अझ यस्तै रहिरहने देखिन्छ,” मौसमविद् प्रधानांगले भने । उनका अनुसार यो अवधिमा केही समय मौसम खुल्ने, फेरि बदली र वर्षा हुने हुन्छ ।
आज राति देशका अधिकांश भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशका तराईका भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।