निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल क्यालिब्रेसन फ्लाइटका लागि तयार भएको छ । क्यालिब्रेसन फ्लाइट भनेको बिमानस्थलमा बिमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने हो ।
यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण आयोजना आईसीबी टुका प्रमुख प्रवीण न्यौपानेले बताए । न्यौपानेका अनुसार बिमानस्थलको टावर, धावनमार्ग लगायतका क्षेत्रमा आवश्यक सबै विद्युतीय उपकरण जडान गर्ने काम चैत दोस्रो सातामै सकिएको थियो । “क्यालिब्रेसन फ्लाइटलका लागि आवश्यक तयारीमा जुटेका थियौ तर यही बीचमा कोरोना भाइरस संक्रमणको जोखिम बढेसँंगै अहिले रोकिएको छ ।
हामी अहिले पनि निरन्तर क्यालिब्रसन फ्लाइटका लागि आवश्यक जहाज र विदेशी प्राविधिक कसरी ल्याउन सकिन्छ भन्नेतर्फ प्रयास गरिरहेका छौं, अवस्था र अन्तर्राष्ट्रिय उडान सहज हुने बित्तिकै काम सुरु हुन्छ, अहिले पनि हामी क्यालिब्रेसन फ्लाइटका लागि तयारी अवस्थामा छौ, जतिबेला पनि क्यालिब्रेसन फ्लाइट गर्न सक्छौ, आवश्यकीय उपकरण सबै जडान भइसकेको छ,” न्यौपानेले भने ।
उनका अनुसार ती उपकरणले काम गरे नगरेको बिमानका पाइलटले टावरसँंग सम्पर्क गर्दा निर्देशनहरू राम्ररी सुनिएको वा नसुनिएको लगायतका कुरा क्यालिब्रेसन फ्लाइटबाट थाहा हुन्छ र बनाउनु पर्ने, सच्याउनु पर्नेसमेत थाहा हुने भएकाले क्यालिब्रेसन फ्लाइट अनिवार्य छ ।
आईसीपी दुई को निर्माण जिम्मेवारी पाएको थाइल्यान्डको एरोथाई कम्पनी हो । उता कोरोना भाइरस संक्रमणका बीच पनि स्वदेशी र विदेशी गरी १२० कामदारले काम गरिरहेका छन् । उनीहरूलाई कार्यक्षेत्रमै रहने व्यवस्था गरी काम भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल आयोजना प्रमुख प्रवेष अधिकारीले बताए ।
बिमानस्थल क्षेत्रमा अहिले २० चिनियाँ, १८ भारतीय र ८० बढी नेपाली कामदार एवं प्राविधिक कार्यरत छन् । अधिकारीका अनुसार अहिले टर्मिनल बिल्डिंगको प्रस्थान र आगमन कक्षको इन्टेरियर, डेकोरेसन, फर्निसिंग, फर्स सिलिंग, एअर कन्डिसन जडान गर्ने, काम भइरहेको छ ।
त्यसैगरी गार्डेनिङ, ल्यान्डस्केप, पेन्टिङ, मार्किंगका काम भइसकेका छन् । “एउटा एक्सरे मेसिनबाहेक विदेशबाट आउनुपर्ने त्यस्तो कुनै महत्वपूर्ण उपकरण छैनन्,” उनले भने । धावनमार्गका लाइटस, कन्ट्रोल टावर, कन्भेएर बेल्ट मेसिन, ब्यागेज ह्यान्डलिंग सिस्टमलगायतका सबै काम सकिएका छन् ।