नेपाल राष्ट्र बैंकले कारोबारको रकम सीमित गर्न बैंकहरुलाई निर्देशन दिएको छ । बिहीबार जुममार्फत वाणिज्य बैंक र विकास बैंकका सीइओ तथा अध्यक्षहरुसँगको भर्चुअल मिटिङमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निश्चित सीमा तोकेर निक्षेप लिने गरी कारोबार गर्न बैंकहरुलाई निर्देशन दिएका हुन् ।
न्यूनतम ५० हजार रूपैयाँभन्दा कम डिपाेजिट नगर्ने बैंकर्स संघले निर्णय गरेकाे छ । पटक-पटक हुने कारोबारलाई निरुत्साहित गर्नुपर्ने कुरा गभर्नरले राखेपछि संघले यस्ताे निर्णय गरेकाे हाे।
मिटिङमा सहभागी केही बैंकका सीइओले अहिलेको अवस्थामा बैंक पूर्ण रुपमा केही दिन बन्द गर्नुपर्ने सुझाव दिए पनि राष्ट्र बैंकले थोरैभन्दा थोरै कर्मचारी राखेर दैनिक केही घन्टा मात्र बैंक सञ्चालन गर्नुपर्ने तर बन्द नगर्न निर्देशन दिएको थियो ।
अहिले बैंकमा एक हजारदेखि पाँच हजारसम्म जम्मा गर्न जाने र त्यही बहानामा बाहिर निस्कने सर्वसाधारण पनि भएकाले त्यस्तो प्रवृत्तिलाई हाललाई रोक्न निक्षेप संकलनमा सीमा तोक्न सकिने राष्ट्र बैंकले जनाएको हो । यद्यपि, नेपाल बैंकर्स एसोसिएसनले सीईओबीच छलफल गरेर केन्द्रीय बैंकलाई निक्षेप संकलनको सीमा पठाएपछि मात्रै निर्णय गर्ने छ ।