मंगलबार शेयर बजारमा दुई रेकर्ड कायम भएका छन्। आज नेप्से परिसूचक र कारोबार रकम अहिलेसम्मकै धेरै भएको हो। मंगलबार ३४.६८ अंकले बढेको बजार २७९३.८९ मा बिन्दुमा पुगेर रोकियो। त्यस्तै, आज कारोबार रकम पनि हालसम्मकै धेरै अर्थात् ११ अर्ब ३५ करोड ९३ लाख रुपैयाँ भएको छ।
कारोबार शुरू भएको करीब १५ मिनेट घटेको बजार त्यसपछि भने लगातार उकालो लागेको थियो। आज नेप्सेमा सूचीकृत उत्पादन बाहेक सबै समूहको सूचक बढेको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन क्षेत्रको सूचक ६.१५ प्रतिशतले बढ्यो। त्यस्तै, फाइनान्स समूहको सूचक ५.८६ प्रतिशतले बढेको छ।
मंगलबार २१५ कम्पनीका २ करोड ३१ लाख ३१ हजार कित्ता शेयर खरीदबिक्री भए। आज ११ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै २३ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक किनबेच भएको छ। कम्पनीको ६७ करोड ९२ लाख रुपैयाँको कारोबार भएको हाे।