प्रधानमन्त्री केपी ओलीले जति नै जालझेल गरेर सत्ता जोगाउन खोजेपनि अब भने परिस्थिति फेरिने देखिएको छ । जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र समूहलाई प्रभावमा पारी वैकल्पिक सरकार बन्ने बाटो छेक्न खोजेका ओलीलाई अन्ततः उनकै पार्टीको माधव नेपाल समूहले साथ नदिने भएको छ ।
हिजो मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम सरकार गठन गर्न आज साँझ ५ बजेसम्मका लागि समय दिएकी छन् । दिइएको समय अगावै विपक्षी दलहरुले वैकल्पिक सरकार बनाउने दावा पेश गर्ने भएका छन् । माधव नेपाल पक्षका लगभग ३५ जनाको हस्ताक्षर रहेको स्रोतको भनाई छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अगुवाईमा नयाँ सरकार बनाउने गरी दाबा पेश गर्ने अन्तिम तयारी भएको छ । अहिले काँग्रेस, माओवादी, जसपाको उपेन्द्र –बाबुराम समूहको बैठक सिंहदरबारमा जारी छ । सबै दलले सांसद्हरुको हस्ताक्षर बुझाउने काम गरिरहेका छन् ।
यसका लागि नेपाली कांग्रेसका पूर्णबहादुर खड्का र पुष्पा भूषाल, माओवादीका देव गुरुङ र वर्षामान पुन , जसपाका इस्तियाक राइ र माधव समूहका रामकुमारी झाँक्री सकृय छन् । हस्ताक्षर संकलन भए लगत्तै राष्ट्रपति कार्यालय जाने तयारी रहेको स्रोतले जनाएको छ ।