रोबर्ट लेवानडोस्कीले जर्मन बुण्डेस लिगा फुटबलमा एकै सिजनमा सर्वाधिक गोल गर्ने ४९ वर्ष पुरानो कीर्तिमान भंग गरेका छन् । लिगमा यो सिजनको अन्तिम खेलमा शनिबार राति लेवानडोस्कीले ४१ औँ गोल गरेर गर्ड मुलरले ४९ वर्ष पहिले बनाएको कीर्तिमान भंग गरेका हुन् ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले एफसी अगस्बर्गलाई ५–२ ले पराजित गर्यो। लेवानडोस्कीले ९० औँ मिनेटमा गरेको गोल लिगमा उनको यो सिजनको २९ खेलमा ४१ औँ गोल बन्यो। च्याम्पियन बनेको बार्यन म्युनिखको ३४ खेलबाट ७८ अंक भएको छ। लेवानडोस्कीले यो सिजन राष्ट्रिय र क्लब प्रतिस्पर्धामा ४६ खेलमा ५३ गोल गरेका छन्।