युभेन्टस आउँदो सिजनका लागि च्याम्पियन्स लिग फुटबलमा स्थान बनाउन सफल भएको छ । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको सिजनको आफ्नो अन्तिम खेलमा बोलोग्नामाथि ४–१ को जित दर्ता गरेको युभेन्टस नापोलीलाई एक अंकले पछि पार्दै शीर्ष चारमा अटाएको हो ।
आइतबार राति नै भएको खेलमा हेल्स भेरोनासँग १–१ को बराबरीमा रोकिएको नापोली भने पाँचौँ स्थानमा रहन बाध्य भयो । अवे मैदानमा भएको खेलमा युभेन्टसका लागि छैटौँ मिनेटमा फेदेरिको चिएसा, २९ र ४७ औँ मिनेटमा अल्भारो मोराटा र ४५ औँ मिनेटमा एड्रियन राबिओटले गोल गरे ।
बोलोग्नाका लागि अरसोलिनीले ८५ औँ मिनेटमा एक गोल फर्काएका हुन् । जितपछि युभेन्टसको ७८ अंक भयो भने पाँचौँ स्थानको नापोलीको ७७ अंक रह्यो । आइतबार राति नै भएको खेलमा एट्लान्टालाई २–० ले पराजित गरेको एसी मिलान दोस्रो तथा पराजित भएको एट्लान्टा तेस्रो स्थानमा रहे । उनीहरुको क्रमशः ७९ र ७८ अंक रह्यो ।