धनकुटाको पाख्रिबास नगरपालिका–८, १० र सहिदभूमि–५ का स्थानीयले खानेपानी आयोजनाको विरोध गरेका छन् । यहाँका स्थानीयले पिउन तथा सिँचाइका लागि प्रयोग गर्दै आइरहेको भूल्के मुहानको पानी समन्वय नगरी पाख्रिबास नगरपालिकाले बृहत् खानेपानी योजनाका लागि ठेक्का लगाएको भन्दै भूल्केबासीले विरोध गरेका हुन् ।
पाख्रिबास नगरपालिका–८ र १० को सिमानामा पर्ने भूल्के मुहानबाट खानेपानी पम्पिङ गरी पाख्रिबास नगरक्षेत्रमा खानेपानी व्यवस्थापन गर्ने ठेक्काको सूचना आएपछि स्थानीयले विरोध गरेका हुन् । तीन वर्षअघि खानेपानी लैजानसमेत डीपीआर गर्न खोजेपछि स्थानीयले अवरोध गर्दा नगरपालिकाले नमानेपछि भूल्केबासी अदालत पुगेका थिए । सोबेला उच्च अदालत धनकुटाले स्थानीयको सहमतिमा मात्रै खानेपानी सञ्चालन गर्न पाख्रिबास नगरपालिकालाई आदेश दिएको थियो ।
नगरपालिकाले अहिले पुनः स्थानीयसँग कुनै सहमति नगरी खानेपानी योजनाको कामअघि बढाएपछि आन्दोलित हुनुपरेको स्थानीय होमबहादुर खत्रीले बताए । स्थानीयको विरोधका कारण खानेपानी आयोजना रोकिएको छ । एक महिना अघिमात्र खानेपानी बृहत् योजना सञ्चालको ठेक्का नै निकालेको सूचना जारी भएपछि सो क्षेत्रका तीन सय ६५ घर परिवाको निन्द्रा नै गुमेको छ ।
भूल्केको पानी नगरपालिकाले लगेपछि पाख्रिबास नगरपालिका–८ र १० का सुनबालुवा, कात्तिके, काभ्रे, चुङमाङ, मालबासे र सहिदभूमि गाउँपालिकाको खोकुटारको करिब २५ सय रोपनी खेतीमा हुने दुई बालीधान, एक बाली गहँु उत्पादन नभई आपूmहरू भोकमरीमा पर्ने र खेती मरुभूमिमा परिणत हुने स्थानीय कृष्णकुमारी राईले बताइन् ।
भूल्केको पानी लिफ्टिङ गर्न टेन्डरका लागि सूचना जारी भएपछि भूल्केबासीले धनकुटास्थित खानेपानी तथा ढल निकास कार्यालयमा योजना रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै कार्यालयका प्रमुख विनोदकुमार भुजेलले सबैसँग सहकार्य गरी अघि बढ्ने बताए । खानेपानीलाई पहिलो प्राथमिकता दिनुपर्ने भए पनि स्थानीय सरकारले स्थानीयसँग सहकार्य नगर्दा समस्या आएको सरोकारवाला बताउँछन् ।