शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्यून रहेको भन्दै विभिन्न विकल्पमा छलफल भइरहेको जनाएको छ । सोमबार सिंहदरबारमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ज्ञापन–पत्र बुझ्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले दोश्रो चरणको कोरोना महामारीका कारण एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्यून हुदै गएको बताउनुभयो ।
उहाँले एसईई परीक्षाका विषयमा मन्त्रालयले विभिन्न विकल्पमाथि छलफल गरेको र छिटै टुङ्गो लाग्ने समेत बताउनुभयो । उहाँले एसईई र कक्षा १२ को परीक्षाका विषयमा छलफल गर्न मन्त्रालयले कार्यदल गठन गरेको र कार्यदलको सुझावका आधारमा छिटै निर्णय लिइने जानकारी दिनुभयो । त्यस्तै शिक्षा क्षेत्रको सुधारका लागि बजेट थप गर्ने लगाएतका अन्य विषयमा पनि सरकार गम्भीर रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।
मन्त्री श्रेष्ठलाई ज्ञापन–पत्र बुझाउदै अखिलका संयोजक ऐन महरले विद्यालय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गरी असार १ गतेदेखि नया शैक्षिक सत्र शुरु गर्न माग गर्नुभयो । १३ बुँदे ज्ञापन पत्रमा भौतिक उपस्थितिमा पढाइ नहुँदासम्मको अवधिको शुल्क मिनाहा गर्नुपर्ने, विद्यालय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गर्नुपर्ने, असार १ गतेदेखि नया शैक्षिकसत्र शुरु गर्नुपर्ने लगाएतका माग राखिएको छ ।