मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको आम्दानीमा गिरावट देखिएको छ । २०२१ को पहिलो त्रैमासिक अवधिमा कम्पनीको आम्दानी एक अर्ब ५० करोड ७० लाख रुपैयाँले घटेको हो । एनसेलको प्यारेन्ट कम्पनी आजियाटाले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार सन् २०२० को पहिलो तीन महिनामा कम्पनीको आम्दानी १२ अर्ब ३ करोड ९० लाख रुपैयाँ रहेको थियो ।
तर यस वर्षको सोही अवधिमा आम्दानी रकम घटेर १० अर्ब ५३ करोड २० लाख रुपैयाँमा सीमित भएको हो । जसले गर्दा कम्पनीको नाफा रकम समेत कम भएको छ । कर तथा दायीत्व कट्टी गरिसकेपछिको कम्पनीको नाफा यस वर्षको सुरुवाती तीन महिनामा ७५ करोड २० लाख रुपैयाँले कम भएको छ ।
कर तथा दायीत्व कट्टी गरिसकेपछिको कम्पनीको नाफा यस वर्षको सुरुवाती तीन महिनामा १५ करोड ५० लाख रुपैयाँले कम भएको छ । गत वर्षको पहिलो त्रैमासिकमा १ अर्ब ६१ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको एनसेलले यस वर्षको सोही अवधिमा १ अर्ब ४६ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ ।
पहिलो त्रैमासिक अवधिको तुलनामा कम्पनीको आम्दानी र नाफा रकम घटेको देखिए पनि सन् २०२० को दोस्रो त्रैमासिक अवधिको तुलनामा त्यस पछिका तीन वटा त्रैमासिकमा कम्पनीको आम्दानी र नाफामा सुधार हुँदै गएको छ । सन् २०२० को दोस्रो त्रैमासिक अवधिमा कम्पनीको आम्दानी ९ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।
प्रति प्रयोगकर्ताबाट हुने आम्दानीमा १५ रुपैयाँको गिरावट कम्पनीको आम्दानी तथा नाफामा गरावट देखिनुमा एनसेलले प्रति प्रयोगकर्ता बाट गर्ने आम्दानी (एआरपीयू) घट्नु मूख्य कारण रहेको छ । सन् २०२० को पहिलो तीन महिनामा प्रति प्रयोगकर्ताबाट औषत २३३ रुपैयाँ कमाएको एनसेलले यस वर्षको सोही अवधिमा औषत २१८ रुपैयाँ मात्र आम्दानी गर्न सकेको छ ।
यसरी कम्पनीले औषत एक जना प्रयोगकर्ताबाट गर्ने आम्दानी रकम गत वर्षको तुलनामा यस वर्षको सुरुवाती तीन महिनाको अवधिमा औषत १५ रुपैयाँले घटेको छ । जसमा पोस्टपेडतर्फ औषत ८३ रुपैयाँ तथा प्रिपेडतर्फ १५ रुपैयाँले कम्पनीको प्रति प्रयोगकर्ता औषत आम्दानी औह्रालो लागेको छ ।