सुपरस्टार खेलाडी लियोनेल मेस्सी बार्सिलोनामा थप दुई वर्ष बस्न सहमत भएको स्पेनका सञ्चारमाध्यमहरूले खबर दिएका छन् । क्लबका अध्यक्ष जोआन लापोर्ताले मेस्सीका बुवा जोर्गेलाई सन् २०२३ को जुन महिनासम्मका लागि सम्झौता गराउन सहमत बनाएका छन् ।
पोहोर साल मेस्सी तथा अन्य खेलाडीहरूका विरुद्ध तत्कालीन अध्यक्ष बार्तोमेउ र बोर्डले अभियान चलाएपछि मेस्सी निकै आहत भएका थिए । त्यसपछि उनी कि म्यानचेस्टर सिटी कि पेरिस सेन्ट–जर्मेन जाने अड्कल गरिएको थियो । स्पेनी न्युज वेबसाइट एल कन्फिडेन्सियलका अनुसार, मेससीलाई क्लबमा राख्न सफल भएपछि अब बार्सिलोनाले अर्का अर्जेन्टिना खेलाडी सर्जिओ अग्वेरोलाई पनि भित्र्याउने भएको छ ।
अग्वेरोले म्यानचेस्टर सिटीबाट बिदाइ लिइसकेका छन् । मेस्सीको तलब र अन्य सेवासुविधाको व्यवस्थापनलाई अन्तिम रूप दिन बाँकी छ किनकि क्लबमा आन्तरिक लेखापरीक्षण चलिरहेको छ ।