गत जेठ २ गतेदेखि प्रारम्भ भएको दोस्रो चरणको खोप अभियानमा दुई लाख ३९ हजारभन्दा बढी व्यक्तिले भेरोसेल खोपको दोस्रो डोज लगाएका छन् । चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोपको दोस्रो डोज ११ गतेसम्म काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा लगाइएको हो ।
स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा.झलक गौतमका अनुसार दुई लाख ८९ हजार ४१७ जनालाई भेरोसेल खोपको दोस्रो डोज दिने लक्ष्य लिइएको थियो । तर, यो अवधिमा दुई लाख ३९ हजार २५३ जनाले मात्र दोस्रो डोज खोप लगाएका छन् ।
यो खोपको दोस्रो डोज लगाउनेहरुमा रसुवाका ९४३, सिन्धुपाल्चोका १७०, नुवाकोटका एक हजार ७८६, काठमाडौंका एक लाख ५० हजार ६७८, भक्तपुरका ३६ हजार ८७१, ललितपुरका ४३ हजार ७१९ र काभ्रेपलाञ्चोकमा पाँच हजार ९६ जना छन् । यो खोपको पहिलो मात्रा दुई लाख ८९ हजार ४१७ जनाले लगाएका छन् । ती मध्ये ८२.७ प्रतिशतले मात्र दोस्रो मात्राको खोप लगाएका छन् ।
केही हप्ता अघि विश्व स्वास्थ्य सङ्गठनले आप’त्तकालीन प्रयोग अनुमति दिएको भेरोसेल खोप चीन सरकारले नेपाललाई आठ लाख मात्रा अनुदानमा दिएको थियो । यसेबीच जेठ १२ गतेदेखि भारतबाट ल्याइएको कोभिसिल्ड खोपको खोपको दोस्रो मात्र दिन शुरु गरिएको छ । स्टकमा बाँकी रहेको एक लाख कोभिसिल्ड खोप प्राथमिकता तोकेर ७७ वटै जिल्लामा हिजोदेखि दिन शुरु गरिएको हो ।