यहाँका स्थानीय तहले आन्तरिक मूल्यांकन गरेर वार्षिक नतिजा प्रकाशनको तयारी गरेका छन् । सामुदायिक तथा निजी विद्यालय बन्द भएको लामो समय भइसकेको र नयाँ शैक्षिक सत्र सुरु हुने समय भइसकेको भन्दै यस्तो तयारी गरिएको हो ।
को’रोना भाइ’रसको दोस्रो भेरियन्ट सुरु हुनुभन्दा अघिसम्म सबै स्थानीय तहमा नियमित पठनपाठन भएको थियो । जिल्लाका सबै स्थानीय तहका अधिकांश विद्यालयले करिब ८० प्रतिशत कोर्स पढाएको बताएका छन् । जिल्लाका ६ वटा स्थानीय तहले यसैलाई आधार बनाएर विद्यालयलाई नतिजा प्रकाशित गर्ने बताएका छन् ।
आठबिसकोट नगरपालिकाले शैक्षिक सत्र २०७७ मा सञ्चालित त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजा तथा निरन्तर विद्यार्थी मूल्यांकन आधारमा नतिजा तयार पारी सार्वजनिक गर्न मातहतका विद्यालयलाई भनेको छ । नगरका सामुदायिक तथा संस्थागत विद्यालयलाई शैक्षिक सत्र २०७७ को नतिजा तयार पारी प्रकाशन गर्न भनिएको नगर प्रमुख तथा शिक्षा समितिका संयोजक गोरखबहादुर बोगटीले बताए ।
उनका अनुसार कक्षा ५ र ८ को नतिजा तयार पारी जेठ २० गतेभित्र नगरपालिकामा बुझाउन निर्देशन दिइएको छ । जेठ २५ गतेभित्र कक्षा १, २, ३, ४, ६, ७ र ९ को पनि नतिजा तयार पारी विद्यालयमा टाँस्न भनिएको उनले बताए । शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार नगरपालिकामा झन्डै ८५ देखि ९० प्रतिशत कोर्स पूरा भएको छ ।
‘अब पुरानै शैक्षिक सत्रको पठनपाठन सम्भव छैन,’ उनले भने, ‘कोर्स पनि करिब पूरा भइसकेको सन्दर्भमा पुरानो शैक्षिक सत्रको नतिजा तयार पारी नयाँ वर्षको सुरुवात गर्ने तयारी भइरहेको छ ।’ कोरोना म’हामा’री कम हुनेबित्तिकै नयाँ शैक्षिक सत्र सुरु गर्ने तयारी गरिएको उनले बताए ।
चौरजहारी नगरपालिकाले आन्तरिक मूल्यांकनको कार्यविधि तयार पारेको छ । शुक्रबारको नगर कार्यपालिका बैठकले कार्यविधि पारित गरेको र अब कार्यविधि अनुसार विद्यालयहरूलाई मूल्यांकन गरी नतिजा बनाउन निर्देशन दिइने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए ।
बाँफिकोट गाउँपालिकाले पनि आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गर्न परिपत्र गर्ने तयारी गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्काले बताए । ‘विद्यालयहरूले निरन्तर पठनपाठन गरेकाले परीक्षा गर्ने समयमै विद्यालय बन्द भए,’ उनले भने, ‘त्यसैले परीक्षा हुन नसके पनि आन्तरिक मूल्यांकनका आधारमा नतिजा गर्न कुनै समस्या छैन ।’
विद्यालयहरू पनि यसका लागि तयारी अवस्थामै रहेका उनले बताए । जनकल्याण मावि पीपलका प्रध्यानाध्यापक झुपिलाल पौडेलले निर्देशन प्राप्त भएपछि जस्तो उपायबाट भए पनि नतिजा बनाउन सक्ने बताए । आन्तरिक मूल्यांकन वा परीक्षा मात्रै सञ्चालन गरेर पनि नतिजा दिन सकिने उनको भनाइ छ ।