लुम्बिनी प्रदेशमा भोलि हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । भोलि हुने उपनिर्वाचनमा मतदानका लागि बिहान ९ बजे देखि ३ बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभा उपनिर्वाचनमा सत्तारुढ नेकपा एमालेबाट चन्द्र बहादुर खड्का र बिपक्षी गठबन्धनबाट दीर्घनारायण पाण्डे उम्मेदबार छन् ।
एमालेका उम्मेदवार खड्कालाई राप्रपाको समर्थन रहेको बताइएको छ । उता विपक्षी गठबन्धनका उम्मेदवार पाण्डेलाई नेपाली कांग्रेस,माओवादी केन्द्र,एमालेको माधव नेपाल– भलनाथ खनाल पक्ष र जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई तथा जनमोर्चाको समर्थन रहेको छ ।
यस अघि माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य रहेका खड्का माओवादी छोडेर एमालेमा प्रवेश गरेपछि लुम्बिनीमा उपनिर्वाचन हुन लागेको छ । उता कांग्रेस सहितको गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे एमालेबाट प्रदेश सभा सदस्य रहेका थिए । उनी एमाले छोडेर कांग्रेस प्रवेश गरेपछि कांग्रेसले उनलाई राष्ट्रिय सभा उम्मेदवार बनाएको हो ।
खड्का र पाण्डेलाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरिसकेको छ । खड्काले सूर्य र पाण्डेले रुख चिन्ह पाएका छन् । बागमति प्रदेशमा जस्तै नेकपा एमालेका नेपाल–खनाल पक्षले बिपक्षी गठबनधनलाई सघाउने भएका कारण पाण्डेले बाजी मार्ने दावी गरिएको छ । एमालेले पनि आफ्ना उम्मेदवारले जित्ने बताएको छ ।
जेठ ६ गते बागमति प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा बादल विपक्षी गठबन्धनका उम्मेदवार डा.खिमलाल देवकोटासँग पराजित भएका थिए । लुम्बिनीमा आ–आफ्ना उम्मेदवारलाई जिताउने विषय एमाले र कांग्रेसका लागि प्रतिष्ठाको विषय बनेको छ । बागमतीकै जस्तो समीकरण भएमा बिपक्षी गठबनधनले जित्ने दाबी गरिएको हो ।