प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपा (एमाले) स्थायी समिति बैठक स्थगित भएको छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बेलुकी ५ बजे स्थायी समिति बैठक बोलाएका थिए। तयारी नपुगेकाले आजको बैठक स्थगित गरिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए। एमाले कार्यालय सचिव तामाङका अनुसार अब सोमबार बिहान १० बजे स्थायी समिति बैठक बस्नेछ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने उनले बताए। गत साता स्पष्टीकरण सोधिएका १२ जना नेताका विषयमा बैठकमा छलफल हुने जनाएको छ। पार्टी निर्णय विपरित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी गरिएको पत्रमा हस्ताक्षर गरेको भन्दै एमालेले १२ जना नेतालाई स्पष्टीरकण सोधेको छ। यसअघि एमाले स्थायी समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ नेतालाई साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो।