आज लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन हुँदै छ । लुम्बिनी प्रदेशमा रिक्त भएको एक पदको लागि उपनिर्वाचन हुन लागेको हो । नेकपा(माओवादी केन्द्र) बाट विजयी अर्घखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि उनलाई पार्टीले कारबाही गरेपछि रिक्त रहेको एक पदको लागि उपनिर्वाचन हुँदैछ ।
निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश राजधानी दाङस्थित कर्मचारी मिलन केन्द्रमा बिहान नौ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन कार्यालय दाङका प्रवक्ता गेहेन्द्र कुँवरले जानकारी दिए । निर्वाचन सकिएपछि तुरुन्तै मतगणना सुरु हुने उनको भनाइ छ ।
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् । यस उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा स्थानीय तहका प्रमुख, उपप्रमुख २१७ गरी जम्मा ३ सय जना मतदाता छन् ।