नेपाली समाजमा आज पनि छोराको चाहना राख्नेको संख्या धेरै छ । छोराकै लागि गर्भमा बच्चाको लिंग पहिचान गरी गर्भपतन गराउने जमात पनि ठूलै छ । तर अभिनेत्री ऋचा शर्माले भने पहिलो सन्तान नै छोरी जन्मियोस् भनेर कामना गरेकी छिन् । गर्भमा ७ महिनाको बच्चा हुर्काइरहेकी ऋचाले आफ्नो सन्तानमा आमाको अनुहार देख्न चाहेको बताएकी छिन् ।
उनकी आमाको ठूलो रहर थियो ऋचाका छोराछोरी खेलाउने । तर उनको बिहे भएको केही समयमा नै उनकी आमाको निधन भयो । आमाको शोक बोकिरहेकै बेला ऋचा गर्भवती भइन् । त्यसपछि उनले भनेकी छिन्, ‘मेरी छोरी जन्मिइन भने फेरि मेरो घरमा आमा फर्किएर आउनु भएको महसुस गर्नेछु ।’
ऋचाका श्रीमानको भने छोराको चाहना राखेका छन् । अहिले गर्भमा रहेको बच्चा छोरा हो कि छोरी भनेर हेर्ने सुविधा भए पनि त्यसतर्फ आफ्नो चासो नभएको पनि उनले उल्लेख गरेकी छिन् । छोरीको चाहना राखेकी ऋचाले सन्तान जे जन्मिए पनि खुसीसाथ स्वीकार जनाएकी छिन् ।
चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन’को निर्णायक रहेकी ऋचा अहिले घरमै छिन् । कोरोनाका कारण ‘कमेडी च्याम्पियन’ बन्द भएपछि उनी घरमै आराम गरिरहेकी छिन् । उनले कोरोना महामारीका कारण गर्भावस्थामा गराउनु पर्ने नियमित जाँच गराउन बाहिर ननिस्किएको बताएकी छिन् । अहिले उनी अनलाइन तथा फोन मार्फत् स्वास्थ्य परामर्श लिइरहेकी छिन् । हरेक अस्पतालमा कोरोना महामारी भएकाले सकेसम्म अस्पताल जानु नपरोस् भनेर उनले कामना समेत गरेकी छिन् ।