लुम्बिनी प्रदेशको बजेट अधिवेशन बुधवारदेखि बुटवलमा शुरू हुँदैछ । यो प्रदेशको आठौं अधिवेशन हो ।
बजेट अधिवेशन भए पनि प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनबाट सरकार अल्पमतमा रहेको भन्दै ४ दलीय विपक्षी गठबन्धनले मुख्यमन्त्रीको राजीनामा माग्ने तयारी गरेको छ ।
संसदलाई छलेर सत्ताको आडमा मुख्यमन्त्रीमा पुनः नियुक्त भएको भन्दै विपक्षी गठबन्धनमा रहेका दलका नेताहरूले बैठकमा नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिँदै आवाज उठाउने बताएका छन् ।
तर सरकारले राष्ट्रिय सभाको उपनिर्वाचनको भएको मतदानले प्रदेश सरकारले अल्पमतमा भएको भन्नुमा कुनै सत्यता नभएको बताएको छ ।
सोमवार भएको राष्ट्रियसभा उपनिर्वाचनमा ८३ प्रदेश सांसदमध्ये ४२ मत विपक्षी गठबन्धनको उम्मेदवारलाई परेको थियो भने एमालेका उम्मेदवारले ४० मत ल्याएका थिए । निर्वाचनमा १ मत बदर भएको थियो ।
सरकारका प्रवक्ता बैजनाथ चौधरीले अन्य प्रयोजनको निर्वाचनले सरकार अल्पमतमा भएको आफूहरूले स्वीकार नगर्ने बताए ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खाँनले सरकार अल्मतमा रहेकाले आफूहरूले मुख्यमन्त्रीको राजीनामा माग्ने बताए ।
उनले भने, ‘सरकार स्पष्ट अल्पमतमा देखिएको छ । अब मुख्यमन्त्री पदमा बसिरहन उहाँसँग बहुमत छैन । हामी राजीनामा मागिरहेका छौं । आजको बैठकमा पनि माग्ने छौं ।’
मुख्यमन्त्रीविरुद्ध जेठ २६ गते पनि अविश्वासको प्रस्ताव दर्ता गरिएको छ तर त्यसलाई संसदमा प्रवेश गराइएन ।
बुधवारको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलका तर्फबाट बोल्ने प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्ने गरी कार्यसूची तय भएको छ ।
प्रदेश सभामा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), अल्पकालीन अन्तरिम आदेशबाट सांसद पद पाएका जनता समाजवादी पार्टी (जसपा) ४ जनासहित ६ र राजमोका १ सांसद छन् । जसपाका ४ सांसद सरकारमा छन् ।