काठमाडौँ उपत्यकामा निषेधाज्ञा पुनः एक हप्ता थपिने भएको छ । उपत्यकाका तिनै जिल्लाका सिडियोको मंगलबार बसेको बैठकले निषेधाज्ञालाई केही खुकुलो पार्दै एक हप्ता लम्ब्याउने निष्कर्ष निकालेको हो ।
बैठकले २० गतेदेखि थप एक साता निषेधाज्ञा लम्ब्याउने निष्कर्ष निकालेको हो । बुधबार बैठक बसेर उक्त निर्णय गरिने भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार खाद्यान्न, किराना पसल, ग्रोसरी तथा डिपार्टमेन्टल स्टोर्सलाई बिहान नौ बजेसम्म सञ्चालन गर्न दिइने,
विकास निर्माणका काम आवासीय रुपमा स्वास्थ्य मापदण्ड अपनाएर गर्न दिइने, निर्माणका सामान ढुवानीलाई निश्चित समय तोकेर सवारी साधनमा ओसारपसार गर्न दिइने लगायतका निर्णय हुने छन्।
यही १४ गते थपिएको आदेशमा भने यी सबै गतिविधिमा रोक लगाइएको थियो । खाद्यान्न पसल बन्द भएपछि प्रशासनले आवश्यक पर्नेहरुलाई स्थानीयस्तरमै खाद्यान्न उपलब्ध गराउने जनाएको थियो ।
आदेशका अन्य प्रावधान भने यथावत रहने जनाइएको छ । जस अनुसार अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाइएको छ । उपत्यकामा वैशाख १६ गतेदेखि लागू हुने गरी आदेश जारी गरिएको थियो ।