चितवनमा धानको बीउ राख्ने समय सुरु भएसँगै किसानहरु मल नपाइने चिन्तामा छन् । यसपटक पनि मलको अभाव हुने भन्दै किसान चिन्तित भएका हुन् ।
गत वर्ष कोरोना महामारीकोसमेत बेवास्ता गर्दै किसानहरू मल लिन निकै लामो लाइन बस्नु परेको थियो ।
कृषि सामग्री कम्पनी लिमिटेडले कूल मागको ७० प्रतिशत र साल्ट टे्रडिङले ३० प्रतिशत मलको आपूर्ति गरेका हुन्छन् ।
जिल्लामा किसानको हातमा मल वितरणको जिम्मा विभिन्न कृषि सहकारी तथा एग्रोभेटहरुलाई दिएको हुन्छ ।
स्थानीय तहलाई तोकिदिएको कोटाका आधारमा स्थानीय तहले सिफारिस गरेको विवरणका आधारमा मल उपलब्ध गराउने गरिएको छ ।
यस वर्ष पनि सहकारीहरुमा मल लिन तथा मलका बारेमा चासो राख्ने किसानहरू देखिन थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनले मलको अभाव र वितरण प्रभावकारी नहुने देखेपछि सरोकारवालासँग मंगलबार प्रशासन कार्यालयमा छलफल गर्यो ।
मलको माग र आपूर्तिका बीचमा ठूलो खाडल रहेकोले उपलब्ध मललाई कसरी सहज वितरण गर्ने भन्ने बारेमा छलफल गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
उनले मल वितरण गर्दा भिडभाड हुन नदिन र प्रभावकारी वितरण गर्न निर्देशन दिइएको बताए ।
जिल्लामा यूरिया मल चालु आर्थिक वर्षमा १७ हजार मेट्रिक टन आवश्यक हुनेमा जम्मा ८ हजार ५ मेट्रिक टन (५० प्रतिशत) मात्रै उपलब्ध भएको छ ।
पोटास ३८ सय ९ मेट्रिक टनको माग भएकोमा ९५० मेट्रिक टन, डीएपी ९१ सय ७९ माग भएकोमा ५८ सय मेट्रिक टनमात्रै आपूर्ति भएको छ ।
यूरिया, पोटास र डीएपी गरेर १४ हजार ७ सय ३८ मेट्रिक टन मलको अभाव छ ।
आगामी आर्थिक वर्ष र चालु आर्थिक वर्षको असारसम्म मलको अभाव हुन नदिन कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश हेटौडा, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लिमिटेड केन्द्रीय कार्यालयमा अनुरोध गरी पत्राचार गर्ने गरिने प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।
मलमा कालोबजारी हुन नदिन आवश्यक अनुगमन गरिने प्रजिअ लामिछानेले बताए ।