दक्षिण एसियामा निकै रुचिपूर्वक बास्मती चामलको भात खाइने गरेको छ ।
तर यसको ट्रेडमार्कका विषयमा यस क्षेत्रका दुई मुलुक भारत र पाकिस्तानले विवाद गरिरहेका छन् ।
भारतले बास्मतीको एक्सक्लुसिभ ट्रेडमार्कका लागि निवेदन दिएको छ ।
उसले ट्रेडमार्क पाएछ भने युरोपेली संघमा बास्मतीको एकल हकदार उही हुनेछ ।
त्यस्तो अवस्थामा पाकिस्तानको महत्त्वपूर्ण निर्यात बजारमा पहुँचमा धक्का लाग्नेछ ।
युरोपेली आयोगबाट प्रोटेक्टेड जियोग्राफिकल इन्डिकेसन प्राप्त गर्न खोज्ने भारतको कदमलाई पाकिस्तानले विरोध गरेको छ ।
त्यसो त जियोग्राफिकल इन्डिकेसनको ट्याग पाउनका लागि नेपाल पनि हकदार मुलुक हो ।
भारत संसारको सबभन्दा ठूलो चामल निर्यातक मुलुक हो । चामलबाट उसले वर्षको ६.८ अर्ब डलर आम्दानी गर्ने गरेको छ ।
पाकिस्तान चौथो पोजिनिमा रही २.२ अर्ब डलर चामल बेचेर कमाउने गर्छ भनी संयुक्त राष्ट्रसंघको आँकडाले देखाएको छ ।
बास्मती चामल विश्वव्यापी रूपमा निर्यात गर्ने यी दुई नै ठूला मुलुक हुन् ।
भारत र पाकिस्तान दुवै देशमा बिरयानी खानका लागि बास्मती चामल नै प्रयोग गरिन्छ ।
विवाह तथा अन्य उत्सवमा बिरयानी खुब स्वाद मानेर खाने चलन छ ।