बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका दुई वटा युनिट (१५२ मेगावाट)
आगामी असार दोस्रो सातासम्म सञ्चालनमा ल्याउने तयारी अनुसार काम भइरहेको छ ।
अहिले आयोजनाको मेकानिकल अर्थात् वेट टेस्ट (उपकरण परीक्षण) भइरहेको छ ।
पहिलो र दोस्रो युनिटको परीक्षण सँगसँगै गरिएको हुँदा एक साताको फरकमा दुवै युनिट सञ्चालनमा ल्याउन सकिने आयोजनाले जनाएको छ ।
केही दिनअगाडि पहिलो युनिटको टर्बाइन घुमाउने क्रममा पानीको प्रेसर (चाप) ले
माथिल्लो पेनस्टकमा जाने सहायक सुरुङको गेटबाट पानी लिकेज (चुहिइएको) थियो ।
बाँधबाट आएको पानीको तीव्र गति र चापले सहायक सुरुङको गेटबाट पानी चुहिइएपछि
यो सँगै भैंसेतर्फको सहायक सुरुङ (अडिट) को गेटसमेत मर्मत सुरु गरिएको थियो ।
भैंसेतर्फको गेट मर्मत सकेर माथिल्लो पेनस्टक नजिकको गेट मर्मत भइरहेको
अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।
‘माथिल्लो पेनस्टक नजिकको गेटको मर्मत सोमबार (जेठ २४ गते ) देखि सुरु भएको हो, शुक्रबारसम्म सकिन्छ,’
उनले ऊर्जा खबरसँग भने, ‘जिओलोजिकल र इलेक्ट्रिकल विज्ञहरू खटाएर चाँडो काम सक्ने लक्ष्य छ ।’
असार पहिलो सातासम्म पहिलो युनिटबाट विद्युत् उत्पादन गर्न सकिने पनि उनले बताए ।
सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष (आव) २०७८/७९ को बजेट
तथा कार्यक्रममा यस आवमा तामाकोसीबाट २२८ मेगावाटमात्र विद्युत् उत्पादन हुने प्रक्षेपण गरेको छ ।
यसको अर्थ आगामी आवमा माथिल्लो तामाकोसी पूर्ण क्षमता (४५६) मा सञ्चालन हुन सक्ने सम्भावना न्यून देखिएको छ ।
आयोजनाको विद्युत्गृहमा ७६ युनिटका ६ वटा टर्बाइन जडान गरिएको छ ।