एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को दोस्रो दिन आज (शनिबार) समूह चरणको विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुदैछ ।
समूह ‘ए’ को वेल्स र स्वीट्जरल्यान्डको खेल्सँगै आज राति समूह ‘बी’ को दुवै खेल हुनेछ ।
डेनमार्क र फिनल्यान्डबीचको खेल नेपाली समयअनुसार डेनमार्कको घरेलु मैदान तेलिया पार्केनमा राति ९:४५ बजे कोपेनहेगनमा हुनेछ ।
अन्डरडगको छवि बनाएको डेनमार्क फिनल्यान्डलाई हराउँदै ३ अंक जोड्ने लक्ष्यमा मैदानमा उत्रनेछ ।
टोलीसँग युरोपियन फुटबलमा प्रभाव जमाएका क्रिस्टियन इरिक्सन, पिएरे इमिल होज्बजर्ग, थोमस डिलाने, मार्टिन ब्रेथवेट,
एन्ड्रिएस क्रिस्टेन्सेन, सिमोन केजाइर, युसुफ पउलसेन र गोलरक्षक कास्पर स्मेइचेलको साथ रहेको छ ।
युरोकपमा डेनमार्कको यो नवौं सहभागिता हो । २०२० मा कास्पर हुलमन्ड प्रशिक्षक भएपछि डेनमार्कको प्रदर्शनमा धेरै नै सुधार देखिएको छ ।
नेसन्स लिगमा राम्रो प्रदर्शन गरेको डेनमार्क विश्वकप छनोट अन्तर्गतका तीन खेलमा अपराजित छ ।
युरोकप अघि भएको मैत्रीपूर्ण खेलमा जर्मनीलाई १–१ गोलको बराबरीमा रोकेको डेनमार्कले बोस्निया एन्ड हर्जगोविनालाई २–० ले पराजित गरेको थियो ।
गत नोभेम्वरमा बेल्जियमसँग ४–२ ले पराजित भएयता डेनमार्क पछिल्लो पाँच खेलमा अपराजित छ । डेनमार्क सोही लयलाई निरन्तरता दिने दाउमा हुनेछ ।
यता, पहिलोपटक सर्वाधिक ठूलो प्रतियोगिता खेल्न लागेको फिनल्यान्ड पनि डेनमार्कलाई स्तब्ध पार्दै सुखद सुरुवात लिने दाउमा हुनेछ ।
टोलीसँग टिमु पुक्की, रोविन लड र लेन कामराको साथ रहेको छ । गत नोभेम्वरमा बुल्गेरियालाई २–१ ले हराएयता
फिनल्यान्डले पछिल्लो ६ खेलमा जित निकाल्न सकेको छैन । यसक्रममा दुई बराबरी र चार हारको नतिजा छ ।
यि दुई टोलीले सन् २०११ मा मैत्रीपुर्ण खेल खेल्दा डेनमार्क २–१ ले विजयी भएको थियो । त्यसपछि यि दुई टोली पहिलोपटक भिड्न लागेको हो ।
यही समुहको अर्काे खेलमा बेल्जियम र रसियाबीच सेन्ट पिटर्सवर्गमा राति १२:४५ बजे प्रतिस्पर्धा हुँदैछ ।