प्यूठानमा बन्दै गरेको पक्कीपुल भत्किएको छ । जिल्लाको माझिदमार र अर्घाखाँचीको च्याउरेखोला जोड्ने झिमरुक नदीमा निर्माणधिन पुल भत्किएको हो ।
झिमरुक खोलामा पानीको बहाव बढेपछि पुल भत्किएको हुनसक्ने स्थानीयले बताएका छन् ।
बाढीले टेकाहरु बगाएपछि पुल कमजोर भइ भत्किएको हुनसक्ने सडक डिभिजन कार्यालय प्यूठानका
इञ्जिनियर अरुण केसीले जानकारी गराए । उनका अनुसार उक्त पुल चार दिनअघि ढलान गरिएको थियो ।
३५ मिटर पुलको स्ल्याप भाँचिएर नदीमा खसेको समेत उनले जानकारी दिए ।
आर्थिक वर्ष २०७४/७५ मा ठेक्का सम्झौता गरी पुल निर्माण गरिएको थियो ।
चालु आर्थिक वर्षको असार २८ गतेभित्र पुल निर्माणको म्याद सकिदै छ ।
अमर कन्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मा पाएको छ । पुल भत्किएपछि यस क्षेत्रका स्थानीय निराश बनेका छन् ।
संघीय सरकारबाट विनियोजित सात करोड १२ लाख रुपैयाँमा सम्झौता भएको डबल
स्पानको ११ मिटर चौडाइ र ७० मिटर लम्बाइ पुल निर्माणको अन्तिम चरणमा पुगेको थियो ।