काठमाडौं। स्वदेशी लगानीमा निर्माण भैरहेको ४५६ मेगावाट विद्युत क्षमताको माथिल्लो तामाकोशी
जलविद्युत आयोजनाको सुरुङमार्ग परिक्षणका लागि पानी हालिएको छ।
अडिट टनेलमा देखिएको लिकेज मर्मत सकिएपछि सोमबार बिहानबाट सुरुङमार्गमा
पानी पठाइएको आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले बताए।
आयोजनाको सुरुङमार्गमा परिक्षणका लागि पानी हालिएको यो तेस्रो पटक हो।
पहिलो पटक बैशाख १६ गते आयोजनाको सुरुङमार्गमा पानी हाल्न सुरु गरिएको थियो।
तर पेनस्टक पाइपमा रहेको म्यानहोलको बिर्कोबाट पानी चुहिएपछि बन्द गरेर मर्मत थालिएको थियो।
पेनस्टकमा कुनै समस्या आए मानिस नै भित्रै गएर मर्मत गर्न सकिने गरि तीनवटा म्यानहोल बनाइएको छ।
एउटा म्यानहोलबाट पानी चुहिएको थियो। मर्मत सकेर पानी हालेपछि अडिट टनेलको गेटबाट पानी चुहियो। त्यसपछि सुरुङमार्गमा पानी पठाउन रोकियो।
आयोजनामा दुइवटा अडिट टनेल छन्। पहिलो अडिट टनेल भैंसे (३ किमि)मा छ।
दोस्रो अडिट टनेल ५ किमिमा पर्छ। सोही अडिट टनेलको गेटबाट पानी चुहिएपछि परीक्षण रोकिएको थियो।
आयोजनाका एक इन्जिनियरका अनुसार टनेलको गेटमा त्यो भन्दा राम्रो गर्न सकिने अप्सन हुदा हुदा छिटोका लागि काम गर्दा लिकेज देखिएको हो।
अडिट टनेलको दुइ स्थानबाट लिकेज देखिएको थियो।
अडिटमा लिकेज देखिँदा सुरुङमार्गभित्र करिव ४ किमी पानीले भरिएको थियो।
आयोजनाका अधिकारीहरुले उक्त पानीबाट टर्बाइन घुमाइ हेर्ने योजना बनाएका थिए।
‘अडिटबाट लिकेज भएपछि पानी पठाउन रोक्यौ तर सुरुङमार्गमा पानी थियो।
सबै पानी खाली गरेर के भएको हो हेर्न मिल्ने अवस्था थियो’, न्यौपानले भने,
‘त्यही पानी खाली गर्दा हामीले टर्बाइन घुमाएर हेर्यौं। दुइ युनिटको सफल परिक्षण भएको छ।’
आयोजनाका अनुसार दुई युनिट उत्पादनका लागि तयार अवस्थामा छ।
‘खाली गर, हेर, मर्मत गर अनि फेरि पानी हाल्नुभन्दा हामीले भएको पानीबाट बिजुली उत्पादन
बाहेकको मेकानिकल परीक्षण गरेका हौं,’ न्यौपानेले भने, ‘एकैपटक दुवै युनिटबाट उत्पादन गर्न मिल्दैन।
पहिलो युनिटले उत्पादन थालेको केहि समयपछि अर्कोमा युनिटबाट उत्पादन सुरु हुनेछ।’
कुनै समस्या नआए असारभित्रै दुइ युनिटबाट १५२ मेगावाट उत्पादन गर्ने लक्ष्य छ।
१५ दिनमा परीक्षण सक्ने भन्दै वैशाखमा पानी हाल्न सुरु गरिएको थियो।
तर विभिन्न खालका प्राविधिक समस्याहरु आएका कारण उत्पादन मिति धकेलिदै आएको छ।
आयोजनाको तालिका अनुसार चैतभित्रै पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन हुनुपर्थ्यो।
‘आयोजनाकै घोषणा अनुसार अहिलेसम्म त कम्तिमा दुई युनिटबाट १५२ मेगावाट विद्युत उत्पादन भइसकेको हुनुपर्थ्यो।
आयोजनासँग कहिलेबाट उत्पादन सुरु हुन्छ भन्ने एकिन तथ्याङक नै छैन।
सुरुङमार्ग निर्माण सकेपनि परिक्षणका क्रममा समस्या देखिएर मर्मत सम्भार गरेर अघि बढ्नुपर्ने थियो,’ आयोजनाका इन्जिनियरहरुको भनाइ छ।
कुनै समस्या आए पानी रोकेर मर्मत सम्भार गर्नुपर्छ। साना तिना समस्याहरु आइरहन्छन्,’ एक इन्जिनियरले भने,’छिट्टै उत्पादन गर्ने लक्ष्य हो।’
कुनै समस्या अर्को आर्थिक बर्ष सर्न सक्ने ती इन्जिनियरको भनाइ छ।
यो जलविद्युतको सुरुङमार्गको लम्बाइ करिब साढे आठ किलोमिटर छ।
नेपालमा अहिलेसम्मकै सर्वाधिक क्षमताको आयोजना भएकाले परीक्षणमा समय लागेको आयोजनाका अधिकारीहरुको भनाइ छ।
सुरुङमार्ग भर्नै एक साताभन्दा बढी समय लाग्छ।
पुरै सुरुङमार्गमा पानी भरिएपछि एक साता दुईतिरबाट बन्द गरेर राखिन्छ।
लिकेज वा सुरुङमार्गमा कुनै समस्या छ कि भनेर हेरिन्छ। कुनै समस्या नआए
सुरुङको पानी टर्बाइनमा खसालेर परीक्षण उत्पादन सुरु हुनेछ।
आयोजनाको जलाशय, बाँध, डिसेन्डर लगायतका सिभिल संरचना र त्यहाँ जडान गरिएका हाइड्रोमेकानिकल उपकरणको सफल परीक्षण भइसकेको छ।
तामाकोशी स्वदेशी लगानीमा निर्माण भएको देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना हो।
४५६ मेगावाटको आयोजनामा ७६/७६ मेगावाटका ६ वटा टर्बाइन छन्।
२०६८ मा निर्माण शुरु भएर २०७२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको
यो आयोजना निर्धारित समयभन्दा ६ वर्ष ढिलोगरी निर्माण सम्पन्न हुँदै छ।
आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ।
चालु वर्ष तीनवटा युनिटबाट २२८ मेगावाट र आगामी वर्ष
थप तीन युनिटबाट २२८ गरि कुल ४५६ मेगावाट उत्पादन गर्ने लक्ष्य छ।