काठमाडौं–बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्टले
शेयरधनीलाई ६५ करोड रुपैयाँको बोनस शेयर दिने भएको छ ।
३ अर्ब ४० करोड पुँजी रहेको सर्वोत्तमले चुक्ता पुँजीको १९.११ प्रतिशत ६५ लाख कित्ता बोनस
शेयर शेयरधनीलाई दिन विशेष साधारण सभा आह्वान गरेको छ ।
बोनस शेयर कर प्रयोजनका लागि चुक्ता पुँजीको १.००६ प्रतिशतले
हुने ३ करोड ४२ लाख १० हजार पाँच सय २६ रुपैयाँ नगद लाभांश पनि प्रदान गर्ने
प्रस्ताव सञ्चालक समितिको बैठकले पारित गरेको छ । बोनस शेयर दिने प्रस्ताव पारित गर्न आषाढ १० गते विशेष साधारण सभा आयोजना गरेको छ ।
बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने तयारीका लागि सर्वोत्तमले प्राथमिक
सार्वजनिक निष्कासन (आईपीओ) गर्न बिक्री गर्न यस अघि नै प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले ६० लाख कित्ता आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।
कम्पनीले प्रतिकित्ता ७५० मूल्य तोकेको थियो । त्यसका लागि कम्पनीले १५ वटा आधार प्रस्तुत गरेको छ ।
कम्पनीका अनुसार दैनिक क्लिंकर उत्पादन क्षमता तीन हजार टन तथा वार्षिक
दुई करोड बोरा सिमेन्ट उत्पादन क्षमता र कम चुक्तापुँजीमा बढी उत्पादन हुँदा बढी प्रतिफल दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो व्यावसायिक उत्पादन सुरु गरेपछि नै नाफा कमाउँदै
आएको र विगत ३ वर्षको औसत मुनाफा (करपछिको) वार्षिक १०४ करोड बढी भएको आधार प्रस्तुत गरेको छ ।
कम्पनीले ७५० मूल्यका लागि यी आधार प्रस्तुत गरे पनि योग्य
संस्थागत लगानीकर्ताले यही मूल्य कायम गर्छन् भन्ने छैन ।
धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको योग्यता पाएका ७४ कम्पनीले बोलकबोल विधिबाट मूल्य निर्धारण गर्नेछन् ।
कम्पनीले संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता, स्थानीय जिल्लाका बासिन्दालाई आठ लाख कित्ता,
कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारणलाई २८ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी छ ।
कम्पनीको हाल चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ छ ।
कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता आईपीओ जारी गर्ने प्रक्रियामा छ ।