एजेन्सी । विश्व फुटबलमा एउटा पावरहाउस हो स्पेन ।
युरोपेली लिगहरुमा सबैभन्दा धेरै खेलाडी आपूर्ति गर्ने देशमा पनि अग्रस्थानमा आउँछ ।
तर युरो २०२० मा स्पेनले निराशाजनक प्रदर्शनको शृंखला जारी राख्दा नकआउट चरण प्रवेशको सम्भावना कमजोर बन्दै गएको छ ।
लुइस इनरिके नेतृत्वको स्पेनले घरेलु मैदानमा गएराति पोल्याण्डसँग १-१ गोलको बराबरी खेल्यो ।
उसले समूह ई को सुरुआती खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको थियो ।
तीनपल्टको युरो च्याम्पियन स्पेन समूहको अन्तिम खेलमा स्लोभाकियालाई हराउन सके मात्र
नकआउट चरणमा पुग्ने स्थितिमा आएको छ । यो खेल बुधबार हुनेछ ।
‘हामीलाई भाग्यले पनि साथ दिएको छैन,’ स्पेनिस डिफेण्डर जोर्डी अल्बाले भने,
‘हामीले राम्रो गरिरहेका छौं र त्यसको नतिजा सकारात्मक आएको छैन ।
मैले यसरी बुझेको छु ।’
अल्भारो मोराटाले २५ औं मिनेटमै स्पेनलाई अग्रता दिलाएका थिए ।
गोलको गतिरोध अन्त्य गरे पनि रक्षापंक्ति कमजोर देखियो ।
दोस्रो हाफको सुरुमै बार्यन म्युनिखका सुपरस्टार रोवर्ट लेवाण्डोस्कीले बराबरी गोल फर्काए ।
५८ औं मिनेटमा जेरार्ड मोरेनो पेनाल्टीमा चुक्दा स्पेनले अग्रता लिने अवसर गुमाएको थियो ।