रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाको ८ नम्बर वडाका किसानलाई उन्नत जातको भैँसी वितरण गरिएको छ ।
उक्त भारतको नानपाराबाट भैँसी ल्याएर वडाका २० जना किसानलाई एकरएक वटा मुर्रा जातका भैँसी वितरण गरिएको छ ।
भैँसी प्रवर्द्धन कार्यक्रम अन्तर्गत शनिवार दूध उत्पादन वृद्धि गर्नुका साथै उन्नत जातका भैँसी प्रवर्धनका लागि भैँसी वितरण गरिएको गाउँपालिका ८ का सूचना अधिकारी धनी प्रसाद खड्काले जानकारी दिए ।
त्रिवेणि गाउँपालिकाको समन्वय तथा जिल्ला स्थित पशु सेवा कार्यालय तथा पशु सेवा अस्पताल र किसानको लागत साझेदारीमा भैँसी वितरण गरिएको हो ।
पशु सेवा कार्यालय तथा पशु सेवा अस्पतालको २० लाख, २० जना किसानको एकमुष्ट ७ लाख गरी २७ लाखको कार्यक्रम रहेको थियो ।
किसानले ५ वर्ष सम्म भैँसी पाल्ने र त्यसबाट आयआर्जन बढाउनुपर्ने सर्त छ । साथै भैँसीको १ लाख रुपैयाँ बिमा पनि गरिएको छ ।
को’रोनाका कारण स्वास्थ्य मापदण्ड अपनाउँदै गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, जिल्ला पशु सेवा केन्द्रको प्रमुख, वडा अध्यक्ष तथा किसानहरूको उपस्थितिमा भैँसी वितरण गरिएको हो ।