सात वर्षअघि नै बनिसक्नुपर्ने सिरहा–धनुषा जोड्ने हुलाकी सडकमा कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।
४७० मिटर लामो पुल निर्माणका लागि २०६८ जेठ ३१ मै पप्पु–लुम्बिनी जेभीले २४ करोड ६२ लाख ८३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
तीन वर्षमा निर्माण गर्नुपर्ने पुलको काम ७ वर्षमा ३५ प्रतिशत सकिएको थियो ।
सरकारले व्यापक दबाब दिएपछि पप्पुले कामबाट हात झिक्यो ।
०७६ असोज १ देखि लुम्बिनी बिल्डर्सले कामको पूर्ण जिम्मेवारी पायो ।
त्यसपछि पुल निर्माणले गति लियो । अहिले पुलको ९९ प्रतिशत काम सकिएको लुम्बीनी बिल्डर्सका इन्जिनियर सूर्यप्रकाश शर्माले बताए ।
उनका अनुसार ११ मिटर चौडाइको कमला नदीको पुल १२ एस्पानको छ । नदीमा अहिले दुवैतिर तटबन्ध निर्माण पनि गरिसकेको छ ।
‘अहिले फिनिसिङको काम मात्र बाँकी छ’, इन्जिनियर शर्माले भने, ‘१५ दिनभित्रै काम पूरा हुन्छ ।’
हिउँदमा जसोतसो खोला वारपार गरे पनि बर्षायाममा पुल नहुँदा सडक अवरद्ध हुन्थ्यो ।
सडक अवरु’द्ध भएपछि सिरहा र धनुषाका दर्जनौं गाउँका नागरिक प्रभावित हुन्थे ।
पुल सञ्चालनमा आएपछि सिरहा सदरमुकामबाट चारपाङ्ग्रे गाडीमा जनकपुरधाम पुग्न ३० मिनेट जति लाग्छ ।
अहिले पूर्वपश्चिम राजमार्ग घुमेर आउनुपर्दा करिब ३ घण्टा लाग्छ ।
पुल सञ्चालनमा आएपछि यस भेगको विकास पनि तीब्र गतिले हुने सिरहा सदरमुकामका संजय साह बताउँछन् ।