गत साता सिन्धुपाल्चोक जिल्लाका हेलम्बु तथा मेलम्चीमा आएको बाढीपहिरोबाट प्रभावित
स्थानिय जनताको दीर्घकालीन व्यवस्थापनका लागि सहायता जुटाउन अभिनेता कृष्ण मल्लको संयोजकत्वमा एउटा समिति गठन गरिएको छ ।
स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला विकास समितिका सभापति कृष्णगोपाल तामाङ,
मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याललगायत जनप्रतिनिधिको उपस्थितिमा कलाकारहरूको समिति गठन भएको हो ।
उक्त भेलामा सिन्धुपाल्चोक गृह जिल्ला भएका कलाकारहरू कृष्ण मल्ल, जितु नेपाल, श्वेता खड्का, चेतन सापकोटालगायतले सहभागिता जनाएका थिए ।
तत्काललाई राहतभन्दा दीर्घकालीन रूपमा व्यवस्थापनका लागि समिति गठन गरिएको कलाकार मल्लले जानकारी दिएका छन् ।
अभिनेता मल्लका अनुसार उक्त समितिले कोष स्थापना गरी सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा भत्किएका संरचना पुननिर्माणका लागि सहायता गर्नेछ ।
उनीहरुलाई स्थायी रूपमा बस्ने व्यवस्थामा कलाकारहरूको पहल तथा प्रयास जारी रहनेछ ।
घरलगायत पुल र विद्यालयको पुनर्निर्माण लागि कलाकारहरूले औद्योगिक क्षेत्र, गैरआवासीय नेपाली र सम्पूर्णलाई सहयोगका लागि आवाहृन गर्ने अभिनेता मल्लको भनाइ छ ।
थप योजना बनाउन समितिको बैठक आगामी बुधवार बस्ने अभिनेता मल्ले जानकारी दिएका छन् ।
अभिनेता मल्लको संयोजकत्वमा समिति गठन भएसँगै उक्त समितिमा अभिनेत्री करिष्मा मानन्धरले एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेकी छिन् ।