सुदूरपश्चिम प्रदेशको प्रसिद्ध जोरायले बासमती धानको रोपाइँ सुरु भएको छ ।
सुदूरपश्चिमका नौ जिल्लामध्ये डोटीको जोरायल गाउँपालिकामा उत्पादन हुने जोरायले बासमती धानको रोपाइँ सुरु भएको हो ।
पकाउँदा र खादा बास्ना आउने जोरायले धान सुदूरपश्चिमका बजारमा चर्चित छ । पछिल्ला वर्ष देशका अरु ठाउँमा पनि खोज्न थालिएको छ ।
जोरायल गाउँपालिकाका रावतकट्टे, चनकट्टे, हाट, सिलङ्गीबाग, थापली, स्याला, पिपलकण्डे लगायतका ठाउँमा याे धान रोप्ने गरिएको किसान टेकबहादुर मडैले बताउनुभयो ।
जोरायले बासमती धान संरक्षणका लागि गाउँपालिकाले विभिन्न योजना ल्याएको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो ।
झण्डै ८०० हेक्टर जमिनमा जोरायले बासमती धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र सिलगढी डोटीले जनाएको छ ।
प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले यो वर्ष मनसुन चाँडै भित्रिएकाले जोरायले बासमती धान रोपाइँ पनि छिटो भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सिँचाइ सुविधासँगै यो वर्ष समयमै वर्षात् भएको छ, किसानलाई बासमती धान रोप्न चटारो भएको छ ।’
अघिल्ला वर्षमा जोरायले बासमती धान उत्पादन केही घटेकोमा चालु आर्थिक वर्षमा धान उत्पादन बढेको थियो।
जोरायले बासमतीसँगै किसानले मार्सि, थापाचिनी, गुर्रा, ठेसे, हंसराज र पालपाली धान लगाउँदै आएका छन् ।