तनहुँको जिल्लाको शुक्लागण्डकी नगरपालिकामा प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा रहेको हिमालको जस्तो झल्को दिने गरी कृत्रिम हिमाल निर्माण गरिएको छ ।
डिभिजन वन कार्यालय तनहुँद्वारा शुक्लागण्डकी–२ स्थित च्यवनधाम परिसरमा मुक्तिनाथको जस्तै कृत्रिम हिमाल निर्माण गरिएको हो ।
च्यवनधाम परिसरमा १०८ धारा निर्माण गरी धारामाथि माछापुच्छ«े, धौलागिरि, अन्नपूर्णलगायतका हिमालको आकृति कुँदेर रमणीय स्थल निर्माण गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।
धाम परिसर क्षेत्रमा सौन्दर्य अभिवृद्धि तथा पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि कृत्रिम हिमाल निर्माण गरिएको हो ।
उनले भने, ‘यस कार्यका लागि गण्डकी प्रदेश सरकारको २० लाख रुपैयाँ आर्थिक सहयोग रहेको छ भने स्थानीय तहको १० प्रतिशत लागत सहभागिता रहेको छ ।’
कृत्रिम हिमशृंखला र १०८ धारा निर्माण पछि ‘मिनी मुक्तिनाथ’ उपनामले परिचित बन्दै गएको मुक्तिनाथ–शुक्लागण्डकी च्यवनधामका अध्यक्ष सुमेन्द्र लालचन बताए ।
विक्रम संवत् २०६५ सालमा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले अधिग्रहण गरी २३ रोपनी जमिनमा बस्ती बसाउन खोजेपछि स्थानीय वासिन्दाको सक्रियतामा धाम निर्माण गरिएको उनले जानकारी दिए ।
सार्वजनिक जमिनको संरक्षण गरी पर्यटकीयस्थलको पूर्वाधार निर्माण गर्न सबै क्षेत्रबाट सहयोग मिलेको धामका सचिव दुर्गादत्त सापकोटा बताए ।
सेती नदीको किनारमा तपोभूमि क्षेत्र भएकाले धार्मिक तीर्थस्थल बनाउने उद्देश्यअनुरूप पूर्वाधार निर्माणको लागि खर्च जुटाउन ३ वर्षअघि महायज्ञ गरी १ करोड ५० लाख संकलन गरिएको थियो ।
संकलित रकमबाट मन्दिरमा पूर्वाधार निर्माणको कार्य अघि बढाइएको हो । उनले भने, ‘च्यवनधाम परिसरमा अहिले आकर्षक शुक्लेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ । मन्दिरको छानो तामाको राखिएको छ ।’
शुक्लेश्वरको आसपासमा सूर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी, गणेशको मन्दिरलगायतका संरचना छन् ।
मुक्तिनाथको जस्तै झल्को दिने गरी १०८ धारा, १०८ ओमकार कल्पवृक्ष, १०८ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्क लगायतका संरचना निर्माण गरिएको छ ।