मनसुन सुरु भएपछि पछिल्लो २० दिनमा देशभरका १ सय २ स्थानमा राजमार्ग अवरुद्ध भएको छ ।
त्यसमध्ये शनिबार साँझसम्म १६ ठाउँमा पूर्ण रूपमा सडक अवरुद्ध छ ।
५७ ठाउँमा एकतर्फी सञ्चालनमा आइसकेको छ भने २९ ठाउँमा सुचारु भएको सडक विभागका महानिर्देशक अर्जुनजङ थापाले जानकारी दिए ।
पछिल्ला तीन दिनमा मात्र ४३ ठाउँमा सडक अवरुद्ध भएको हो ।
पछिल्ला दिनमा पहाड र हिमाली क्षेत्रमा पहिरोले मात्र होइन, तराईमा पनि समस्या देखिन थालेको उनको भनाइ छ ।
मनसुनले सबैभन्दा बढी प्रभावित डुम्रे, बेँसीसहर, चामे, मनाङ सडक योजनाको डुम्रे, बेँसीसहर, चामे सडक भएको छ ।
यो सडकखण्डको ७ ठाउँमा शनिबार साँझसम्म अवरुद्ध रहेको छ ।
बर्सेनि मनसुनले प्रभावित यो सडकमा अघिल्ला वर्षहरूमा पनि पहिरोको समस्या देखिँदै आइरहेको छ ।
केही ठाउँमा ठूलो ढुंगासहितको पहिरो गएको इन्जिनियर सुरज महर्जनले जानकारी दिए ।
सम्भव भएका केही ठाउँमा भने पहिरो सफा गरिएको छ । तर, केही स्थानमा बाढीले ट्रयाक नै बगाएको छ ।
यसकारण तत्कालै सडक सुचारु गर्न कठिन हुने सडक विभागका अधिकारीहरूको भनाइ छ ।
शनिबार साँझ मात्र त्रिभुवन राजपथको सिर्सिया, पथलैया, हेटौँडा, भैँसे, पालुङ, नौबिसेखण्ड अवरुद्ध भएको छ ।
यो सडकको लामीडाँडा–सिमभञ्ज्याङ खण्डमा अवरुद्ध भएको हो ।
त्यस्तै, कान्ति राजपथको हेटौँडा, बागमती, टीकाभैरव खण्डको बगुवा र जितपुर भन्ने ठाउँमा पनि सडक अवरुद्ध भएको छ ।
पूर्व–पश्चिम राजमार्गको नवलपुरस्थित थुम्सी–पितौजी भन्ने ठाउँमा पनि सडक अवरुद्ध छ ।
त्यस क्षेत्रमा ह्युम पाइप राखेर डाइभर्सन मर्मत भइरहेको इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।
रसुवास्थित ठोरी, भण्डारा, मलेखु, गल्छी, मैलुङ, रसुवागढी सडकको पनि त्रिशूली खोला, सानो भार्खु खोलामा सडक अवरुद्ध छ ।
अरनिको राजमार्गको सिन्धुपाल्चोक क्षेत्रमा पर्ने विभिन्न ठाउँमा सडक अवरुद्ध छ ।
गत शनिबार लिपिङमा पुल बगाएपछि अझै सडक अवरुद्ध छ । अप्ठ्यारो भौगोलिक अवस्थाले गर्दा तत्कालै नियमित गर्न सकिएको छैन ।
सम्भव भएका ठाउँमा आवश्यक उपकरणमार्फत सडक सञ्चालनमा ल्याउन कोसिस भइरहेको महानिर्देशक थापाले बताए ।
कतिपय ठाउँमा तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गरेर पनि सुचारु राख्ने प्रयास भइरहेको उनको भनाइ छ ।