नेप्से परिसूचक निरन्तर घट्दै गएको छ । नयाँ आर्थिक वर्ष नजिकिएसँगै नयाँ नीति, बजेट कार्यान्वयनजस्ता
अनेकौँ कारणको असर पनि सेयर बजारमा देखिएको लगानीकर्ता बताउँछन् ।
राजनीतिक अस्थिरता, करको भार, पुँजीगत खर्च पनि असार मसान्तसम्म बढी हुने हुँदा लगानीकर्ता
नयाँ आर्थिक वर्षको पर्खाइमा रहँदा पनि सेयर बजारमा हरियाली छाउन नसकेको लगानीकर्ताको ठहर छ ।
सोमबार नेप्से परिसूचक ११ दशमलव ७८ अंकले घटेर २ हजार ८ सय २२ दशमलव ७४ बिन्दुमा पुुगेको छ ।
त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ४ अंकले घटेर ५ सय २८ बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १३ समूहका सूचकमध्ये ५ समूहका सूचक बढेका छन् भने ८ समूहका सूूचक घटेका छन् ।
विकास बैंक, फाइनान्स समूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ भने निर्जीवन बिमा समूहको १ प्रतिशतले घटेको छ ।
ट्रेडिङ समूहको सूचक भने ३ दशमलव ६१ प्रतिशतले बढेको छ ।
सोमबार धेरै गुमाउने कम्पनीमा गोर्खा फाइनान्स कम्पनी परेको छ ।
यसको सेयर मूल्य ६ प्रतिशतले घटेको छ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट बैंक, नेसनल हाइड्रोपावर कम्पनी,
नेपाल इस्योरेन्स कम्पनीको सेयर मूल्य ५ प्रतिशतले घटेको छ । विशाल बजार कम्पनीको १० प्रतिशतले सर्किट मूूल्यमा
कारोबार हुँदै ५ सय ३४ रुपैयाँले बढेर प्रतिसेयर मूल्य ५ हजार ८ सय ७८ रुपैयाँ पुगेको छ ।
हिमालयन डिस्टिलरीको ८ प्रतिशतले बढेर प्रतिसेयर मूल्य ५ हजार ६ सय ८५ रुपैयाँ पुगेको छ ।
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २४ कम्पनीको १ करोड ६३ हजार
कित्ता–इकाइ सेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
सबैभन्दा बढी हिमालयन डिस्टिलरीको ४१ करोड २० लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रोमा अपर तामाकोसी हाइड्रोपावरको १९ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, नेपाल बैंक लिमिटेडको १५ करोड ५६ लाख रुपैयाँ र नेपाल इस्फ्रास्ट्रक्चर बैंकको १३ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
मनकामना स्मार्ट लघुवित्तको आइपिओमा २० लाखभन्दा बढीको आवेदन
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपिओ (प्राथमिक सेयर)मा २० लाख २ हजारभन्दा बढीको आवेदन परेको छ ।
आवेदन दिने अन्तिम दिन सोमबार ५ बजेसम्ममा २ करोड ६१ लाख ५५ हजार १० भन्दा बढी कित्ताका लागि
आवेदन परेको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।