इटालियन फरवार्ड मारियो बालोटेली टर्किस क्लब एडाना डिमिरस्परमा अनुबन्धित भएका छन् । बालोटेली फ्रि एजेन्टमार्फत टर्किस क्लब एडानामा अनुबन्धित भएका हुन् ।
उनले टर्किससँग ३ वर्षको सम्झौता गरेका छन् । ३० वर्षीय फरवार्ड यो सिजनको अन्त्यसँगै इटालियन सिरी ‘बी’ क्लब मोन्जाबाट स्वतन्त्र बनेका थिए ।
उनी ६ महिनाका लागि मोन्जामा आबद्ध भएका थिए । तर, टोली यो सिजन पनि शीर्ष डिभिजनमा उक्लन सकेन ।
इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलका पुर्व फरवार्ड बालोटेलीको यो १०औं क्लब हो । उनले लुमिजाने, इन्टर मिलान, म्यानचेस्टर सिटी, एसी मिलान, लिभरपुल, निस, मार्से, ब्रेसिया र मोन्जाबाट खेलिसकेका छन् ।
क्लबको अफिसियल ट्वीट् ह्यान्डलबाट बालोटेलीले एडानामा अनुबन्धित भएको तस्विर सार्वजनिक भएको छ । जहाँ एजेन्ट मिना राइओला, एडानाका अफिसियलसँगै कप्तान पनि उपस्थित रहेको छ ।
क्लबले विश्व स्टार बालाटेली भनेर सम्वोधन गरेको छ । उनले क्लबसँग ३ वर्षको सम्झौता गरेको र अब उनले निलो जर्सीबाट खेल्ने उल्लेख गरेको छ ।
व्यवसायिक खेल करियरमा टर्की उनको चौथो राष्ट्र हो । यसअघि उनले इटाली, इंग्ल्यान्ड र फ्रान्सबाट खेलिसकेका छन् ।
डिमिरस्परका अध्यक्ष मुरात सानकले बालोटेलीको चाहाना अर्काे वर्ष कतारमा हुने विश्वकप खेल्ने रहेको बताएका छन् । अध्यक्ष मुरात सानकले बालोटेली विश्वकपकै लागि तयार हुनका लागि यहाँ आएको बताएका छन् ।
उत्तेजित र आक्रमक छविका बालाटेलीबारे क्लबलाई पनि ज्ञान रहेको र एडानाले उनलाई व्यवस्थापन गर्न सक्ने अध्यक्ष मुरातले बताएका छन् ।
क्लब फुटबलमा विवादित छवि बनाएका बालोटेलीले सन् २००७ मा इन्टर मिलान आउनुअघि लुमेझानेबाट व्यवसायिक खेल करियर सुरु गरेका थिए ।
उनले इन्टरबाट ८६ खेलमा २८ गोल गरेका थिए । यो समयमा जोसे मौरिन्होको प्रशिक्षणमा इन्टरले टेरिबल उपाधि जित्दा उनी टोलीका सदस्य थिए ।
त्यसपछि बालोटेली २०१०–११ को सिजनमा इंग्लिस क्लब म्यानचेस्टर सिटी पुगेका थिए । हालका इटालीका प्रशिक्षक रोबर्टाे मान्सिनी प्रशिक्षक रहँदा उनले तीन सिजनमा ८० खेलमा ३० गोल गरेका थिए ।
यो समयमा सिटीले प्रिमियर लिग र एफए कपको उपाधि जितेको थियो । त्यसपछि उनी पुन इटाली फर्कदा एसी मिलानमा आबद्ध भएका थिए । मिलानमा दुई सिजन बिताउँदा बालोटेलीले ५४ खेलमा ३० गोल गरेका थिए ।
पुन उनी प्रिमियर लिग क्लब लिभरपुलमा अनुबन्ध भएका थिए । उनले लिभरपुलमा एक सिजनमा २८ खेलमा ४ गोल मात्रै गर्न सफल भएका थिए ।
पुनः उनी एक सिजनको लागि लोनमा मिलान नै पुगेका थिए । त्यहाँ उनले त्यो समयमा आशातित प्रदर्शन गर्न सकेनन् । उनले २३ खेलमा ३ गोल मात्रै गन सके ।
त्यसपछि उनी २०१६–१७ को सिजनमा फ्रान्सेली क्लब निसमा पुगे । निसमा उनले तीन सिजन बिताउँदा ७६ खेलमा ४३ गोल गरेका थिए । उनी एक सिजन मार्सेमा आबद्ध भए । मार्सेमा उनले १५ खेलमा ८ गोल गरे ।
त्यसपछि उनी इटालियन क्लब ब्रेसियामा आउदा १९ खेलमा ५ गोल गरेका थिए । अर्काे सिजन उनी सिरी ‘बी’ क्लब मोन्जामा पुगेका थिए । त्यहाँ उनले १४ खेलमा ६ गोल गरेका थिए ।
बालोटेलीले इटालीका लागि ३६ खेलमा १४ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले सन् २०१८ सेप्टेम्वरमा नेसन्स लिगमा पोल्यान्डविरुद्ध खेलेपछि इटालीको टोलीबाट खेल्न पाएका छैनन् ।