मुगुको खत्याड गाउँपालिकाले किसानलाई बाख्रा वितरण गरेको छ ।
गाउँपालिकाभित्रका किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत र बोयर जातका बोका बाख्रा वितरण गरिएको हो ।
किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउन कृषि र पशु क्षेत्रमा विभिन्न योजना ल्याइएको गाउँपालिकाले जनाएको छ ।
बोयर जातका बाख्रा वितरणपछि उन्नत जातका बोकाबाट राम्रो आम्दानी लिन सहयोग पुग्ने पालिकाको अपेक्षा छ ।
गाउँपालिकाको ससर्त अनुदानबाट १५ लाख र पालिकाको सहयोगमा ३० लाख रुपैयाँ
बराबरको लागतमा खत्याडका १२ जना बाख्रापालकलाई बोका बाख्रा वितरण गरिएको हो ।
कार्यक्रममा १ सय ८० बाख्रा र १२ बोका गरी १९२ वटा बोयर जातका बाख्रा वितरण
गरिएको खत्याड गाउँपालिकाका पशु शाखा अधिकृत वासुदेव कार्कीले बताए ।
उनका अनुसार गाउँ कार्यपालिकाले गठन गरेको समितिको निर्णयअनुसार पालिकाका उत्कृष्ट किसानलाई बाख्रा वितरण गरिएको हो ।
पालिकाभरका किसानसँग दरखास्त आह्वान गरेकामा १२ जना कृषक फार्म छनोटमा परेपछि प्रत्येक किसानलाई १६ वटा बाख्रा वितरण गरिएको हो ।
बाँकेको प्रगतिशील बहुद्देश्यीय सहकारी संस्था महादेवपुरी वडा नम्बर ५ धकेडीबाट बोयर जातका
बाख्रा ल्याई वितरण गरिएको खत्याड गाउँपालिका अध्यक्ष उब्जनबहादुर शाहीले बताए ।