नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ ।
बैठक दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, पार्टी एकता कार्यदलबीच भएको
१० बुँदे सहमतिलगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री
नियुक्त गर्न र विघटटित प्रतिनिधिसभालाई पुनःस्थापित गर्न परमादेश जारी गरेको थियो ।
अदालतलाई प्रभाव पार्नेगरी सहमति हुँदैनः माधव नेपाल
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतलाई प्रभाव पार्नेगरी सहमति नहुने बताएका छन् ।
एकताको प्रयास जारी रहेका बेला नेता नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताए ।
‘अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन । हस्ताक्षर फिर्ता हुन सक्दैन ।
यो मेरो बटमलाइन हो’, नेता नेपालले भने । कार्यदलका सदस्यहरुले बिहान नेता नेपालसँग छलफल गरेका थिए ।
नेपाल तर्फका कार्यदल सदस्यहरु कोटेश्वरबाट फर्किएपछि सिंहदरबारमा कार्यदलको बैठक जारी छ ।
कार्यदलका सदस्यहरुले आजै सहमतिको सम्भावना रहेको बताएका छन् ।
तर नेता नेपालले सर्वोच्च अदालतको मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिएर सहमति नहुने बताए ।
अदालतलाई प्रभाव नपार्ने गरी अन्य विषयमा सहमतिको निम्ति तयार रहेको उनले बताए ।