चौबिसे गाउँपालिका ४ भैंसेटारस्थित माझी बस्ती आधारभूत सुविधाबाटै वञ्चित छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइजस्ता जनताका आधारभूत सुविधाबाट माझी समुदाय वञ्चित हुनुपरिरहेको छ ।
सिँचाइ अभावमा जमिन बाँझै छ । स्थानीय हर्कबहादुर माझीले रहरलाग्दो बारी भए पनि अन्न उब्जाउन कठिनाइ भएको बताए ।
५–७ रोपनी जग्गामा जुनेलो, मकै खेती गर्दै आएको उनले सुनाए ।
‘नेतादेखि गाउँ आउने सबैलाई समस्या राख्दै आए पनि सुन्दैनन्,’ उनले भने, ‘हाम्रो समस्या समाधान कहिले होला ?’
भैंसेटार क्षेत्रमा बसोबास गर्ने ३९ मध्ये २३ घर माझीका छन् ।
अन्य तामाङलगायत जाति पनि यहाँ बसोबास गर्छन् ।
शैक्षिक, आर्थिक तथा सामाजिक रूपमा पनि पछि परेका माझी समुदायको उत्थानमा चासो जान नसकेको स्थानीय युवा बिन्दे माझीको भनाइ छ ।
जग्गामा बालीनाली लगाउन आकाशे पानी कुर्नुपर्ने स्थानीय दिलबहादुर कुमाल माझीले बताए ।
वर्षे खेतीले उब्जाएको अन्नले ३ महिना पनि खान नपुग्ने उनको भनाइ छ ।
माछा मार्ने, जाल हान्ने वैकल्पिक पेसा बनाएका उनले जहान परिवार पाल्न धौधौ पर्ने गरेको दुखेसो सुनाए ।
बस्तीबाट वडा कार्यालय रहेको स्थान मानेडाँडा पुग्न झन्डै दुई घण्टा उकालो चढ्नुपर्छ ।
सानो कामले पनि वडा कार्यालय आउजाउ गर्दै दिन बित्ने स्थानीयले बताए ।
केही वर्षअघि नजिकैको गाउँ फलामेटारमा खुलेको स्वास्थ्य चौकीले केही राहत भएको इन्दिरा माझीले बताइन् ।
गाउँमा ५ कक्षासम्म पढाइ हुने विद्यालय छ । त्यसभन्दा माथिल्ला कक्षा पढ्न ३ घण्टा टाढा गढिगाउँ पुग्नुपर्छ ।
खानेपानीका लागि लिफ्ट सिँचाइ आयोजना सञ्चालन गर्ने भए पनि अझै व्यवस्थित हुन नसकेको त्रैलेक्यश्वर प्रावि भैंसेटारका प्रधानाध्यापक टीकामाया तामाङको भनाइ छ ।