माओवादीको उद्गम मानिने रुकुमका दुई माओवादी नेतालाई एकै समयमा एउटै प्रकृतिको मन्त्रालयको जिम्मेवारी पाउने संयोग जुरेको छ।
रुकुमका माओवादी नेताद्वय जनार्दन शर्मा र गोपाल शर्मालाई एकै समयमा अर्थमन्त्री बन्ने संयोग जुरेको हो।
मंगलबार (२९ असार) कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा शपथसँगै माओवादी केन्द्रका नेता जनार्दन शर्माले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन्।
गोपाल भने कर्णाली प्रदेश सरकारमा ठीक दुई महिनाअघि अर्थ (आर्थिक मामिला तथा योजना) मन्त्री नियुक्त भइसकेका थिए।
कर्णाली प्रदेश सरकार माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीको नेतृत्वमा छ। शाही नवनियुक्त अर्थमन्त्री शर्मा निकट मानिन्छन्।
२९ वैशाखमा प्रदेशको मन्त्री मण्डल विस्तार गर्दा मुख्यमन्त्री शाहीले शर्मालाई सो मन्त्रालयको जिम्मेवारी दिएका थिए।
त्यसअघि सो मन्त्रालयको जिम्मेवारीमा एमाले नेता प्रकाश ज्वाला थिए।
विश्वासको मत लिने क्रममा मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका एमालेका चार सांसदमध्ये ज्वाला पनि एक थिए।
त्यसपछि एमालेले उनलाई सांसद पदबाट निस्कासन गरेको थियो।
ज्वाला सांसदबाट निस्कासित भएपछि मुख्यमन्त्री शाहीले २९ वैशाखमा पुनर्गठन गरेको मन्त्री मण्डलमा शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएका थिए।
आर्थिक मामिला तथा योजना मन्त्रालयलाई प्रदेशको अर्थ मन्त्रालय मानिन्छ।
२०७४ को आम निर्वाचनमा शर्माद्वय रुकुमबाट प्रत्यक्ष सिटमा निर्वाचित भएका थिए।
यसमध्ये जनार्दन प्रतिनिधि सभामा निर्वाचित भए भने गोपाल रुकुम–२ बाट प्रदेशबाट निर्वाचित भएका थिए। प्रतिनिधि सभामा रुकुममा एउटामात्र सिट छ।
यसमध्ये संघीय सरकारका अर्थमन्त्री शर्मा रुकुम सदरमुकाम क्षेत्रमा पर्ने सेरीगाउँका हुन् भने प्रदेश सरकारका अर्थमन्त्री शर्मा पश्चिमी क्षेत्रमा पर्ने चौरजहारीका हुन्।
अझ रोचक त के छ भने, २०७४ को निर्वाचनअघि देउवा नेतृत्वकै सरकारमा जनार्दन शर्मा गृहमन्त्री थिए भने गोपाल उनका निजी सचिव।