गलकोट नगरपालिकाभित्रका ४ वटा बजार क्षेत्र ढलान भएका छन् ।
बर्खामा हिलाम्मे, हिउँदमा धुलाम्मे भएर बजारको सौन्दर्य नराम्रो देखिने गरेको थियो ।
नगरपालिका र स्थानीय उपभोक्ताको सह–लगानीमा बजार क्षेत्र ढलान भएका हुन् ।
वडा नम्बर २ को नरेठाँटी बजार, वडा ३ को हटिया बजार, वडा ५ को हरिचौर बजार र वडा ८ को काँडेवास बजार ढलान गरिएको हो ।
नगरपालिकाले लागत मूल्यको ७० प्रतिशत र स्थानीयले ३० प्रतिशत लगानी गरेपछि ढलान सम्भव भएको हो ।
‘हामीले श्रमदान गरेर भए पनि बजार आकर्षक बनाउने भन्ने चाहना राखियो ।
त्यसपछि नगरपालिकाले लगानी गरेको हो’ वडा नम्बर २ का वडाध्यक्ष हिमबहादुर भण्डारीले भने, ‘अहिले बजारको आकर्षण नै छुट्टै भएको छ ।’
नरेठाँटी बजारो ढलान गर्न पहिलो वर्ष ३० लाख, गत वर्ष २५ र यो वर्ष १० समेत गरी ६५ लाख रुपैयाँ लगानी भएको हो ।
त्यस्तै वडा नम्बर ५ स्थित हरिचौरमा १ करोड रुपैयाँ बढी लगानी गरेर १ किमि सडक ढलान गरिएको छ ।
‘अझै केही खण्ड बाँकी छ । उपभोक्ताले पनि कतिपय काम गरेका छन्,’ वडाध्यक्ष नारायणध्वज मल्लले भने,
‘ऐतिहासिक बजारमा हिलोले आउजाउ गर्न पनि गाह्रो थियो । पाहुनाले नराम्रो मान्थे ।
अहिले राम्रो भयो ।’ बजार क्षेत्रमा कालोपत्रे गरे पनि नटिक्ने भएपछि ढलानको अवधारणा ल्याइएको उनले बताए ।
हटिया बजारमा गत वैशाखदेखि नै काम थालेर असार मसान्तमा ढलान गरिएको छ ।
यहाँ पनि झन्डै १ किमि सडक ढलान गरिएको हो ।
नगरपालिकाको ७० लाख र स्थानीयको ३० लाख गरी १ करोड रुपैयाँ लगानी भएको वडाध्यक्ष वीरजंग भण्डारीले बताए ।
ढलान गरिसकेपछि बजार क्षेत्र आकर्षक भएका छन् ।
पुराना बजारका व्यवसाय घटेको, बसाइँसराइ हुन थालेकोलगायत कारण देखेपछि
नगरपालिकाले ढलान गरेर आकर्षण बनाउने योजना राखेको थियो ।
उक्त योजनाअनुसार नै अहिले बजार क्षेत्र राम्रो देखिएको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।
नगरपालिकाले ग्रामीण सडक खण्डमा पनि उकालो, हिलो र सहजै सवारी गुड्न नसक्ने अवस्थाका
स्थानमा ढलानको योजना बनाएको छ । सोहीअनुसार कतिपय स्थानमा ढलान भएका छन् ।
वडा नम्बर १ को दुदिलाभाटी, वडा नम्बर ७ को सप्ताहघाटलगायत स्थानमा छिटफुट ढलान गरिएको हो ।
वडा नम्बर ४ को कार्यालय पुग्ने स्थान भने कालोपत्रे नै भएको छ ।
नगर गौरवको योजनामा सूचीकृत वडा नम्बर ४ कार्यालयसम्म पुग्ने बाटो कालोपत्रे भएको छ ।
यो सडक बन्दा वडा कार्यालय मात्र नभई खरुवा मावि र चमुवासम्म जाने यात्रीलाई समेत सहज भएको छ ।
वडा नम्बर २ ले मध्यपहाडी लोकमार्गको काफलठुटादेखि झाँक्री स्थान जानेतर्फको सडकलाई
विकल्प दिन ग्रामीण सडकलाई ग्राभेलसमेत गरेको छ ।
झन्डै ५ किमि लामो यो सडकको आधा बढी ग्राभेल भइसकेको हो ।
लोकमार्ग अवरुद्ध भए जिप तथा हलुका सवारीले यो सडक उपयोग गर्न थालिसकेका छन् ।