काठमाडौं । नेकपा एमालेका २२ सांसदले अध्यक्ष केपी शर्मा
ओलीलाई स्पष्टीकरण दिएका छन् ।
उनीहरुले छुट्टाछुट्टै स्पष्टीकरण दिएका हुन् ।
तर संयुक्तरुपमा बुझाइएको एक सांसदले जानकारी गराए ।
बुधबार केन्द्रीय कमिटीको बैठकमार्फत
एमालेका २२ सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण मागिएको थियो ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी गरेका छन् ।
त्यसका लागि अहिले नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला भएका छन् ।
सांसद भवानीप्रसाद खापुङ्गले सांसदहरु आउनेक्रम जारी रहेको र केही बेरमा जवाफ पठाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हो हामी जवाफ दिँदैछौँ । केही माननीयज्यूहरु हस्ताक्षर गर्दै हुनुहुन्छ, केही आउँदै हुनुहुन्छ ।’
पार्टी एकतालाई बल पुगोस् भन्ने उद्धेश्यले स्पष्टीकरणको जवाफ दिन लागेको उहाँको भनाइ छ ।
‘अहिले पार्टी एकताको कुरा छ, त्यसमा बल पुगोस् भन्ने कुरा हो ।
जसरी हामीलाई पार्टी अनुशासन तोडेको आरोप लागेको छ,
त्यसबारे प्रष्ट पार्न पनि जवाफ दिने निर्णयमा पुगेका हौँ’, सांसद खापुङ्गले भन्नुभयो ।
अध्यक्ष ओलीले अस्तिको मिति राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपाल पक्षका २२ सांसदलाई हिजो स्पष्टीकरण सोध्नुभएको थियो ।
संविधानको धारा ७६(५) को प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा दलको ह्वीप नलाग्ने र ह्वीप उलंघनको आधारमा
कारबाही गर्न नपाउने सर्वोच्च अदालतको आदेशका कारण स्पष्टीकरणपत्रमा उनीहरुमाथि पार्टी अनुशासन मिचेको आरोप लगाइएको छ ।
सांसद खापुङ्गले फरक–फरक बुँदामा स्पष्टीकरण सोधिएकाले त्यसैअनुसार जवाफ तयार पारिएको बताउनुभयो ।
नेकपाको विवाद, एमाले माओवादी ब्युँताउने सर्वोच्चको फैसला र त्यसयता
ओलीले गरेका एकल निर्णयका कुरा जवाफमा समेटिएको उहाँले बताउनुभयो ।
‘स्पष्टीकरणमा भिन्नाभिन्नै बुँदा छन् । वैशाख २७ गते अनुपस्थितलाई छुट्टै छ ।
तर, हामी सबैले एमाले–माओवादी एकता, अदालतको फैसला र उहाँ (ओली)
ले गरेका एकलौटी निर्णयले पार्टी अहिलेको अवस्थामा पुगेको कुरा उठाएका छौं’, उहाँले भन्नुभयो ।