आफ्नो अवकाश जीवनपछि पर्यटक भिसामा नेपाल आएका अस्ट्रेलियाका ६९ वर्षीय फ्रेङ्क अर्मिडा आफ्नो अवधि सकिएपछि चिन्तित छन् ।
लकडाउन र कोरोना कहरले सोचेजस्तो नेपाल घुम्न नपाउँदै नेपाल बस्ने अवधि सकिएको तथा आफ्नो देशमा पनि अहिले प्रवेश नपाउने चिन्ता छ उनलाई ।
‘पर्यटक भिसाको अवधि सकियो । नेपाल सरकारले अवधि सकिएकालाई एक हप्ताभित्र देश छोड्नु भनेको छ ।
नेपालमा नयाँ भेरियन्ट पुष्टि भएपछि अस्टे«ेलियाले रेडजोनमा राखेको छ र स्वदेश भित्रिन दिँदैन । यस्तो वेला कसरी घर फर्कनु ?’ उनले भने ।
अवकाश जीवनमा नेपाल घुम्न आएकी अमेरिकाकी लिन्डा सारन्डाको गुनासो पनि उस्तै छ ।
०७२ को भूकम्पपछि आफू नेपाल आउने–जाने गरिरहेको उनी बताउँछिन् ।
‘अहिलेको अप्ठ्यारोमा केही थप शुल्क लिएर भए पनि हामीलाई यहीँ बस्ने व्यवस्था गरिदिए हुन्थ्यो ।
हामी पोखरामै सुरक्षित छौँ । यसवेला जोखिम मोल्दै महँगो तिरेर किन जाने भन्ने हो ।
हामीलाई खर्च गर्ने पैसाको अभाव छैन । यही नेपालमा खर्च गर्छौँ,’ उनले भनिन् ।
जर्मनीकी ३५ वर्षीया निकोल कोल्बर्ग आफूले हातमा लगाएको मेहन्दी देखाउँदै नेपाली चाडबाड र संस्कृतिले आफूलाई मोहित पारेको बताउँछिन् ।
नेपाली साथीले लगाइदिएको मेहन्दी भन्दै उनले तिहार पनि नेपालमा मनाउने अवसर पाएको अनुभव सुनाइन् ।
तर, अहिले यसवेला भिसा अवधि सकिएकाले अप्ठ्यारोमा परेको उनको गुनासो छ ।
सामान्य समयमा झन्डै ९० हजार शुल्कमा आफ्नो देश पुग्न सकिने भए पनि अहिले जोखिमसँगै ३ लाखभन्दा धेरै खर्च लाग्ने उनले बताइन् ।
पोखराका पर्यटन व्यवसायीले कठिन अवस्थामा नेपालमै बस्न चाहने पर्यटकलाई धेरै शुल्क लिएरै भए पनि व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।
‘सरकारले विदेशी पर्यटकलाई एक महिनासम्मको भिसा फ्री गर्ने घोषणा गरेको छ ।
यहीँ भएकालाई किन बस्ने वातावरण सहज नबनाउने ?’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले भने, ‘हामीले पर्यटन मन्त्रालय र विभागमा सुझाब पठाएका छौँ ।’